बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बनेको तीन सातापछि मन्त्रिपरिषद्‌ विस्तार गरेकी छन्।

मुख्यमन्त्री शाक्यले बुधबार मन्त्रिपरिषद्‌ विस्तार गरेकी हुन्। अल्पमतमा परेको सरकारमा उनले ६ मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन्। प्रदेश प्रमुख कार्यालयमा आज नवनियुक्त मन्त्रीहरूलाई शपथ गराइएको छ।

नवनियुक्त मन्त्रीहरू चितवनका विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, काठमाडौंका  अजयक्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, दोलखाकी रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रलाय, सिन्धुलीका प्रदीप कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालय, रामेछापका शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र काभ्रेका चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, अन्य ४ जनालाई राज्यमन्त्री नियुक्त गरिएको छ। जसमा मकवानपुरकी जुनेली श्रेष्ठलाई सामाजिक विकास मन्त्रालय, नुवाकोटका बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ललितपुरका जीवन खड्कालाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भक्तपुरकी सरस्वती बाटीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सहित राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

२ भदौमा बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अहिले अल्पमतमा परिसकेको छ। एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै शाक्यको सरकार अल्‍पमतमा परेको हो।

बागमती प्रदेशका ५६ एमाले सांसदमध्ये १३ जना सांसदले यसअघि नै एकीकृत समाजवादी पार्टी रोजेका छन्। अबको एक महीनाभित्रै प्रदेश सभाबाट शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ।

माधवकुमार नेपाल समूहमै रहेका तर पछि पार्टी विभाजनमा साथ नदिएर एमालेमै बसेकाहरूमध्ये रचना खड्का, विजय पौडेल, प्रदीप कटुवालले मन्त्री बन्ने अवसर पाएका हुन्। शाक्य पनि पहिला माधव समूहमा थिइन्। तर, आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले एमालेकै साथ दिएकी हुन्।

यसअघि शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद्‌ गठन भएको थियो। शाक्यले आफूले मुख्यमन्त्रीको शपथ लिएकै दिन सामाजिक विकास मन्त्री बनेका कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादी रोज्दै मन्त्री पदबाट राजीनामा दिएसँगै शाक्य सरकार दुई सदस्यमा सीमित भएको थियो।

मुख्यमन्त्री शाक्यले प्रदेशका फरक फरक जिल्लाबाट एक–एक जना पर्ने गरी मन्त्रिपरिषद्‌‌मा सहभागी गराएकी हुन्।

Recent Comments

No comments to show.