काठमाडौं । भारतीय रियालिटी शो ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार मुम्बईको कपुर अस्पतालमा निधन भयो। ४० वर्षीय अभिनेता शुक्लाको मृत्युको कारण हृदयाघात भएको बताइएको छ।
हृदयाघात भएपछि उनलाई मुम्बईको कपुर अस्पताल लगिएको थियो। तर, त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरे।
बालिका बधु टिभी सिरियलबाट चर्चा बटुलेका सिद्धार्थले ‘फ्यान फलोअर्स’ पनि उत्तिकै कमाएका थिए। अहिले उनको मृत्युको खबरले प्रशंसक तथा सम्पूर्ण सिनेउद्योग शोकमा डुबेको छ।
को हुन् सिद्धार्थ शुक्ला ?
सिद्धार्थ शुक्लाको जन्म सन् १९८० डिसेम्बर १२ मा भारतको मुम्बईमा भएको थियो। उनले एक मोडलका रूपमा आफ्नो करिअर सुरु गरेका थिए। शुक्लाले सन् २००५ मा विश्वको उत्कृष्ट मोडलको उपाधिसमेत जितेका थिए ।
मोडलिङबाट करिअर सुरु गरेका सिद्धार्थले सन् २००८ मा टिभी शो ‘बाबुलका आँगन छुटे ना’बाट टेलिभिजन सिरियलमा आफ्नो यात्रा सुरु गरेका थिए।
यसपछि उनले धेरै टिभी शो, रियालिटी शो र म्युजिक भिडियोमा अभिनय गरे। उनले जाने पहचाने से अजनबी, सिआइडी, ब्रोकन बट ब्युटीफुृल ३, बालिका बधु, दिल से दिल तक, आहट, लव यु जिन्दगीजस्ता चर्चित टिभी शोहरुमा अभिनय गरेका थिए।
त्यस्तै, शुक्ला फियर फ्याक्टर खतरों के खिलाडीको ७ औं सिजन र बिग बोस सिजन १३ का विजेतासमेत हुन्।
त्यस्तै, उनले सावधान इन्डिया, इन्डियाज गट ट्यालेन्ट सिजन ६ र ७ जस्ता रियालिटी शोको होस्ट समेत गरेका थिए । उनी झलक दिख्लाजा डान्स प्रतियोगितामा समेत प्रतियोगीका रूपमा सहभागी भएका थिए ।
यसबाहेक उनले हम्पटी शर्माकी दुल्हन्नीया, बिजिनेस इन कज्जाकिस्तान र शोर्मा जस्ता फिल्ममा समेत अभिनय गरेका छन्। हालै मात्र उनी अभिनित ‘दिलको करार आया’ बोलको गीतले सर्वाधिक चर्चा कमाइरहेको छ।
यस्तो रह्यो सिद्धार्थको प्रेम सम्बन्ध
‘भाभीजी घर पर हैं’ मा अंगुरी भाभीको भूमिकामा लोकप्रिय भएकी तथा बिग बोस ११ की विजेता बनेकी शिल्पा शिन्देले दुई वर्षअगाडि सिद्धार्थ शुक्लासँग सन् २०११ देखि आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरिन्। तर, त्यसपछि शिल्पा र सिद्धार्थबीच कुटपिटका घटना बाहिर आयो।
शिल्पाले आफूलाई गुडिरहेको सवारी साधनबाट बाहिर धकेलेर मार्न खोजेको भनी सिद्धार्थविरुद्ध मुद्दा दायर गरेकी थिइन्। यसरी सिद्धार्थको शिल्पासँगको सम्बन्ध विवादमा रह्यो र, पछि टुङ्गियो ।
पछिल्लो समय सिद्धार्थको नाम शहनाज गिलसँग जोडिएको थियो। सिद्धार्थ र शहनाज बिग बोस–१३ मा सँगै देखिएका थिए। शोमै दुईबीचको पे्रम सम्बन्धको हल्ला चलेको थियो।
शो समाप्त भएपछि पनि शहनाजले खुलेरै सिद्धार्थलाई मन पराउने उल्लेख गर्दै आएकी छिन्। यद्यपी सिद्धार्थले भने यो कुरा कहिल्यै केही बोलेका थिएनन्।
सिद्धार्थ र शहनाजसँगै अन्तिमपटक ‘बिग बोस ओटीटी’मा गत आइतबार देखिएका थिए।
प्रतिक्रिया