विद्युतीय कारोबारमा वृद्धि,जेठमा मात्रै कनेक्ट आईपीएसबाट २० लाख १६ हजार ६४८ पटक कारोबार

विद्युतीय कारोबारमा वृद्धि,जेठमा मात्रै कनेक्ट आईपीएसबाट २० लाख १६ हजार ६४८ पटक कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र सङ्ख्या दुवै बढेको देखिएको छ ।

विद्युती भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएकोे  हो ।

कोरोना संक्रमणको त्रास बढेसँगैपछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गत आर्थिक वर्ष जेठसम्मको तथ्यांकअनुसार विद्युतीय भुक्तानीको संख्या र परिमाण गुणात्मक रूपमा बढेको देखिएको छ ।

केन्द्रीय बैंकका अनुसार ठूलो कारोबारका राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) कनेक्ट आईपीएस र मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उच्च वृद्धि भएको छ ।

यी उपकरणको माध्यमबाट २०७७ जेठसम्ममा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख बराबरको कारोबार भएकोमा २०७८ जेठसम्ममा २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसमा आरजीटीएस, कनेक्ट आईपीएस र मोबाइल बैंकिङको ठूलो हिस्सा छ । तथ्यांक अनुसार २०७७ जेठमा कनेक्ट आईपीएसबाट ६ लाख ९६ हजार ५३८ पटक कारोबार भएकोमा २०७८ जेठमा २० लाख १६ हजार ६४८ पुगेको छ । नेपाल राष्ट्र बैंकले अभियानकै रूपमा सञ्चालन गरेको क्विक रेस्पोन्स (क्यूआर) मा आधारित कारोबारमा पनि बढेको छ । क्विक रेस्पोन्समा आधारित भुक्तानी २०७७ असार मसान्तमा १ लाख ९५ हजार १६ ओटा भएको थियो, जुन २०७८ जेठ मसान्तमा ५ लाख २ हजार ६६६ पुगेको छ ।     

यसैगरी २०७७ जेठमा मोबाइल बैंकिङमार्फत ५८ लाख १७ हजार ६८१ पटक कारोबार भएकोमा बढेर २०७८ जेठ मसान्तमा १ करोड १० लाखभन्दा माथि पुगेको छ । वालेटमार्फत हुने कारोबार भने केही घटेको छ । २०७७ जेठमा १ करोड १ लाख ७९ हजार ५५७ पटक कारोबार भएकोमा २०७८ जेठ मसान्तमा ९७ लाख ५० हजार ६५ मा सीमित छ ।    

कोरोनाका कारण २०७६ चैतदेखि २०७७ साउनसम्म देशव्यापी लकडाउन लागू भयो । यस्तै २०७८ वैशाख १६ गतेदेखि २०७७ असारको दोस्रो सातासम्म देशव्यापी निषेधाज्ञा लागू भयो । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिक रूपमा उपस्थित भएर कारोबार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोबारलाई नै प्राथमिकता दिएका छन् । विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ । राष्ट्र बैंकको विवरणअनुसार कनेक्ट आईपीसमार्फत हुने कारोबार १ खर्ब भन्दा बढीले भएको छ ।     

२०७७ जेठ मसान्तमा ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आईपीएसमार्फत भएकोमा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान प्रधानका अनुसार ग्राहकमा बढ्दै गएको प्रविधिप्रतिको जागरुकता तथा कोरोनाका कारण पनि विद्युतीय कारोबारमा वृद्धि भएको हो । सरकार, नेपाल राष्ट्र बैंक र सम्बद्ध अन्य निकायको सार्थक प्रयासले नगदरहित कारोबार बढेको उनको भनाइ छ । सबै क्षेत्रमा सहज रूपमा विद्युतीय कारोबार हुने र स्वीकार्य हुने अवस्था बनेमा नगद कारोबारलाई न्यून विन्दुमा झार्न सकिने उनले बताए ।

राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्म ५८ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी क्यूआरकोडमार्फत भएको थियो । २०७८ जेठ मसान्तसम्ममा त्यो बढेर १ अर्ब ९६ करोड ८० लाख पुगेको छ । यसले पनि ग्राहकहरू प्रविधिको प्रयोगमा अध्यस्त हुँदै गएको देखिन्छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली नेपाल राष्ट्र बैंकले सहज रूपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुकताका कारण विद्युतीय कारोबार बढेको बताउँछन् ।

क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआर कोड प्रयोगमा वृद्धि भएको छ ।

Recent Comments

No comments to show.