काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले तालिबानी विद्रोहीहरुको आक्रमण बढ्दै जाँदा अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाबारे चासो दिएका छन् । अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा सरकारसँग माग गरेको छ ।
यस्तै राप्रपाले ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग आग्रह गरेको छ । ब्रिटिश गोर्खाका पूर्वसैनिकहरुले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्षमा छन् ।
तत्कालिन नेपाल सरकार र व्रिटिश सरकारबीच भएको सम्झौता अनुरुप बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको दुई सय वर्ष नाघि सकेको छ । तर,आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीमाथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य हुन सकेको छैन ।
विगतमा पनि व्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको जनाएको छ । ती मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपाले सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया