काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको नेतृत्व अब महिलाले गर्नुपर्ने बताएकी छिन् । त्यसका लागि पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेकी छिन् । कोइरालाले ठूलोबुबा (बिपी) र बुबा (गिरिजाप्रसाद) को सपना साकार पार्न आफू नेतृत्वमा जाने बताएकी छन् ।
नेतृ कोइरालाले २१औँ शताब्दीमा विश्वका धेरै मुलुकमा महिलाले नेतृत्व लिइसकेको अवस्थामा देशकै पुरानो र लोकतन्त्रवादी दलको नेतृत्वमा महिला आउन जरुरी भइसकेको उनको भनाई छ । ‘अब दलमा महिलाको भूमिकालाई बढाउनै पर्छ । त्यसकै नेतृत्व म लिन अग्रसर भएकी हुँ,’ उनले भनिन्,‘मेरो प्राथमिकता महिलालाई राजनीति र पोसेली मेकिङ तहमा पु¥याउनु हुनेछ । सँगसँगै राजनीतिमा युवाको प्रतिनिधित्व बढाउन पनि मेरो उम्मेदवारी रहेको छ ।’
कोइराला परिवारभित्रबाट महामन्त्री शशांक र नेता शेखरले नेतृत्वको दाबी गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेतृ सुजाताले परिवारबाट आफूलाई सबैको विश्वास रहने दाबी गरिन् ।
उनले भनिन्- सवाल नेपाली कांग्रेसको मात्र होइन । समग्र मुलुकको हो । यसबीचमा मुलुक समस्याले घेरियो । लोकतन्त्रवादी शक्ति कमजोर हुँदाका बेथिति सबैले देखेकै छौँ । यो अवस्थामा मैले उम्मेदवारी दिने तय गरेकी हुँ । आफ्नो परिवारभित्रका सबैबाट पूर्ण साथ र सहयोग पाउनेमा म विश्वस्त छु ।
नेतृ कोइरालाले आफूले लोकतन्त्र बलियो बनाउने एजेन्डा पनि प्रस्तुत गरिन् । आफू नेतृत्वमा आएमा लोकतन्त्रमा कहिल्यै कसैसँग सम्झौता नगर्ने योजना पनि उनले सुनाइन् । उनले लोकतन्त्र कांग्रेसको फेस भएको बताउँदै नेपाली जनता र कांग्रेस कार्यकर्ताको त्याग र बलिदानलाई कहिल्यै नभुल्नेु बताइन् ।
वार्ताका क्रममा आफ्नो उम्मेदवारीलाई आगामी स्थानीय, प्रदेश र संसदीय चुनावसँग पनि उनले जोडेकी थिइन् । आगामी चुनावमा कांग्रेसले विगतमा गुमाएको वर्चस्व फिर्ता ल्याउन पनि उम्मेदवारी दिन लागेको तर्क उनले गरिन् ।
सँगसँगै समृद्ध नेपाल निर्माण गर्ने र नेपालको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिनेसम्मको योजना उनले सुनाइन् ।
प्रतिक्रिया