माधव नेपाल अपराधी हुन्,एमालेमा कुनै ठाउँ छैन : ओली

माधव नेपाल अपराधी हुन्,एमालेमा कुनै ठाउँ छैन : ओली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

शनिबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै सरकार ढाल्नेलाई पार्टीमा ठाउँ नभएको बताएका हुन्। ओलीले भने, “अब माधव नेपाल जस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन।”

नेता नेपालले गर्दा नै आफ्नो सरकार ढलेको उनको भनाइ थियो। “वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर त्यो सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार गठन गरेर त्यो सरकारलाई समर्थन दिनेलाई पार्टीमा ठाउँ छैन,” ओलीले भने।

पार्टी विरुद्ध काम गर्नेलाई हटाएर एमालेलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ थियो। त्यसपछि एमाले एकजुट भएर अघि बढ्ने ओलीको दाबी थियाे।

नेता नेपालले पार्टी छाड्दैमा केही असर नपर्ने उनकाे भनाइ थियाे। “खराब माल बाहिरिएपछि, बिकाउ माल बाहिरएपछि एमाले एकढिक्का हुनेछ,” ओलीले भने, “आगामी चुनावमा एक सय सिट प्रत्यक्षमा र ५० लाख भोट समानुपातिकमा ल्याउनेछौं।”

अध्यक्ष ओलीले आगामी सरकार एमालेकै बन्ने दाबी गरे। त्यो सरकारले देश विकास गर्ने उनको भनाइ थियो। “आगामी सरकार हाम्रो हुन्छ, बनाउनुपर्छ। त्यो सुदृढ सरकार हुनेछ, त्यसले देश बनाउने अभियानलाई दृढतापूर्व अघि बढाउनेछ,” ओलीले भने।

अब जनताले नेता नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भोट नदिने उनको ठम्याइ थियो। “माधव नेपाललाई के देखेर जनताले भोट हाल्छन्? प्रचण्डलाई के देखेर भोट हाल्छन्?” ओलीले भने, “एमाले हिँड्दा कसैसँग भाग्नुपर्ने छैन, जनता हाम्रो साथमा छन्।”

Recent Comments

No comments to show.