काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापतिको तयारी तीव्र बनाएका छन्। गत शनिबार सभापति शेरबहादुर देउवासँग आफू १४औं महाधिवेशनमा सभापति पदमा लडेरै छोड्ने निर्णय सुनाएका निधिले तयारी तीव्र पारेका हुन्।
सोमबारमात्रै उनले छुट्टाछुट्टै भेटघाट गरेका थिए। उनले पार्टी सभापतिका अन्य आकांक्षीलाई फकाउने र युवा नेताको साथ खोज्ने रणनीति लिएका छन्। सोमबारको भेटमा निधिले १४औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने भन्दै सहयोगका लागि महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग प्रस्ताव गरेका थिए ।
जवाफमा कोइराला र सिंहले पनि सभापतिका लागि सहयोग मागेका थिए । तर, भेटपछि तीनैजना नेताहरू १४औँ महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा भने एकमत भएका छन् । त्यसका लागि आवश्यक सहकार्यका लागि छलफललाई निरन्तर राख्ने सहमतिसमेत गरेका छन् ।
फरक–फरक समूहमा भए पनि कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूको यो भेटवार्तालाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ ।
कांग्रेस संस्थापक तीन नेताका उत्तराधिकारीको भेटले कांग्रेसमा तरंग ल्याएको थियो। तर, निधिले सोमबार युवा नेताहरूसँग समेत भेटवार्ता गरेका छन्। १४औं महाधिवेशनमा आफू सभापति बने १५औं महाधिवेशनमा नयाँ पुस्तालाई छोड्ने बताइरहेका निधिले युवा नेतासँग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।
निधिले चन्द्र भण्डारी, दीपक गिरि, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, सरिता प्रसाई, जीवन परियार, बद्री पाण्डे, प्रदीप पौडेललगायतका नेताहरूसँग छलफल गरेका थिए। युवा नेताहरुमाझ निधिले नेतृत्व फेर्ने पक्षमा भए आफूलाई सहयोग गर्न आग्रह गरे। साथै निधिले अब पार्टीको नेतृत्वमा परीक्षण भइसकेकालाई स–सम्मान बिदाइ गर्नुपर्ने र नयाँ पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए ।
महाधिवेशनको मिति टुंगो लागेलगत्तै संस्थापन समूहमा नेतृत्वका विषयलाई लिएर हल्लाखल्ला चलेको छ । तर, सभापति देउवाले महाधिवेशन गर्न चासो नदेखाएको आरोप लगाउने संस्थापनइतर समूह महाधिवेशनको मिति तोकेपछि भने मौन बसेको छ ।
प्रतिक्रिया