काठमाडौं । पारदर्शी आयस्रोत केही छैन । राहत बाँड्न भन्दै अरुबाट पैसा उठाउँछन् । र, गाडीमा युट्युबर, सहयोगीहरू लिएर फिल्डमा जान्छन् । तस्वीर, भिडियो खिच्छन् र फेसबुकमा पोस्ट गर्छन् ।
पछिल्लो समय त्यहि कामको होडबाजी चलेको छ सामाजिक अभियन्ता बन्न । युट्युबर भाग्य न्यौपाने,शर्मिला वाइबा, पुण्य गौतम , मुकुन्दे, ज्ञानबहादुर शाही लगायत पनि सामाजिक अभियन्ताकै रूपमा चर्चित छन् । कथित् सामाजिक अभियन्ताहरू आफूआफूमै भिड्ने गरेका छन् ।
अभियान्ताको टकरावले फेसबुक हेरिसक्नु छैन् । । तथानाम गाली, पोल खोलाखोल, चरित्रहत्या सबैथोक गर्छन् । अनौठो कुरा त के भने यिनीहरूबीचको वाक् भिडन्तमा पक्ष र विपक्षमा लागेर गालीगलौज गर्नेहरू नै केही दिनपछि सामाजिक अभियन्ता कहलाउँछन् ।
हालै मात्र प्रहरीमाथि रंगभेदी दुर्व्यवहार गरेकी ज्वाला भनिने टीका संग्रौला चर्चामा आउनुको कारण रोचक छ । खासमा उनी टेलिभिजनकर्मी रवि लामिछानेकी ‘डाइहार्ट फ्यान’ थिइन् । लामिछानेका आलोचकलाई फेसबुकमा तथानाम गाली गर्दागर्दै उनी आफैँ सामाजिक अभियन्ता बन्न पुगिन् । फेसबुकमा रहेका झण्डै २ लाख फलोअर्स सायद अहिले उनको अहम्को मुख्य स्रोत हो ।
हालै मात्र ज्वाला संग्रौलाले प्रहरी असई मणिकान्त झाबारे रंगभेदी अभिव्यक्ति अनि ‘पावर’को धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । ‘हामीलाई नि कारबाही गर्नुपर्यो । तर, यहाँ बस्नै दिँदैनौँ सरुवा एनिहाउ हामी गर्छौं’, निषेधाज्ञा पालना गराउन ड्युटीमा खटिएका प्रहरीले लाइसेन्स मागेपछि आक्रोशित बनेकी उनले ११ जेठमा प्रहरी कार्यालयभित्रै यस्तो धमास दिएकी थिइन् ।
काे हुन् सामाजिक अभियन्ता ?
शब्दकोशमा अभियन्ता भनेको इन्जिनियर भनिएको छ । चलनचल्तीको भाषामा कुनै अभियानमा निरन्तर सरिक व्यक्तिलाई अभियन्ता भन्ने गरिएको छ । अर्थात् अगुवाको पर्यायका रूपमा अभियन्ता चलाउने गरिएको छ ।
सामाजिक अभियन्ता कसलाई भन्ने अहिले खासगरी ट्विटरमा बहस तातेको छ । पैसा उठाएर राहत बाँड्ने कामले नै सामाजिक अभियन्ता भइन्छ त ? धेरैले यही प्रश्न गरिरहेका छन् । ‘यो सामाजिक अभियन्ता भन्ने शब्दावली अचेल निकै बिझ्न थालेको छ । बदनामले पनि आफूहरूलाई अभियन्ता भनेको देख्दा–सुन्दा वास्तविक अभियन्ताले अपमानबोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, ट्विटरमा पत्रकार धर्मेन्द्र झाले लेखेका छन् ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउने सामान्यतः समाजको बृहत्तर सुधारमा खटिने, सामाजिक हितलाई नै स्वार्थ मान्ने, विकृति, विसंगति, अराजकताको खिलाप सक्रिय हुने, जनचेतना अभिवृद्धि गर्नेहरूलाई नै सामाजिक अभियन्ता मान्छन् ।
विपन्न, असहाय, विपत्तिपीडितहरूका लागि सहयोग संकलन गरेर वितरण गर्नु सामाजिक काम भए पनि त्यसैका आधारमा सामाजिक अभियन्ताको पदवी दिनुलाई उनी स्वाभाविक ठान्दैनन् । ‘हामीकहाँ त ठग्दाठग्दै, गुण्डागर्दी गर्दागर्दै, अरुको चरित्रहत्या गर्दागर्दै एकाएक सामाजिक अभियन्ता बन्ने होड नै चलेको छ’, चलाउने भन्छन्, ‘केवल चर्चाका लागि गरिने काम त्यति सम्मानजनक पदवीका लागि योग्य हुँदैन भन्ने लाग्छ ।’
उसाे त, जो पनि आफूलाई सामाजिक अभियन्ता भएको दाबी गर्न थालेपछि ट्विटरमा खिसिटिउरी हुने गरेको छ । कतिपय ट्विट यस्ता सामाजिक अभियन्तालाई कटाक्ष गर्दै आउने गरेका छन् । जस्तो कि ट्विटरमा घाटे वैद्य लेख्छन्, ‘प्रश्न उठाउन नपाइने, शासक र सनकी मानसिकता बोकेका सरकारको काम गर्ने सबै लम्पट हुन्छन् भन्ने सोच्ने, समाजदेखि टाढा रहेका, विलासी जीवन बिताउनेलाई सामाजिक अभियन्ता भनिन्छ ।’
कथित् सामाजिक अभियन्ताहरू आफूलाई ठूलो जनसमर्थन रहेको ठान्छन् । त्यसैले बोलीपिच्छे उनीहरू ‘तीन करोड नेपाली’ भन्न छुटाउँदैनन् । मणिकान्तमाथि भएको दुर्व्यवहारमा ज्वाला समूहका एक जनाले सोधेका छन्, ‘तपाईंले देशका लागि पाँचवटा राम्रा काम के गर्नुभयो, भन्नुस् ?’
यो प्रश्न मात्र होइन, कथित् अभियन्तामा उकुसमुकुस दम्भ पनि हो । राहत, सहयोगको नाममा विदेशमा काम गर्ने नेपालीबाट पैसा उठाएर बाँड्ने यिनीहरू विल्कुल पारदर्शी हुँदैनन् । राहत र सहयोग भएकाले कर पनि लाग्दैन । त्यसैले आयस्रोतको कुनै काम नगर्ने यस्ता थुप्रै अभियन्ताको दैनिकी केवल पैसा उठाउने, केही जोगाउने र केही बाँड्ने भएको छ ।
आफू जनताका लागि खटिएको दाबी गर्ने उनले ती मणिकान्त पनि जनताकै लागि काम गरिरहेको कुराको विल्कुल हेक्का राखिनन् । बरु झा हो भने मधेसतिर गएर बस्न भन्दै उनको समूहले साम्प्रदायिक सद्भावविरोधी अभिव्यक्ति दियो । नभन्दै केही दिनमै मणिकान्तको सरुवा भएको थियो । भिडियो सार्वजनिक भएपछि दबाबमा परेको प्रहरीले सरुवा फिर्ता गरिसकेको छ । तर, साम्प्रदायिक सद्भावविरोधी अभिव्यक्तिलाई लिएर टीका उर्फ ज्वाला संग्रौलालाई कारबाही गर्नुपर्ने आवाज चौतर्फी उठेको छ ।
प्रतिक्रिया