काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई पहिलाको भन्दा तुलनात्मक रुपमा केही खुकुलो बनाउने विषयमा मंगलबार दिउँसो ४ बजे तीनवटै जिल्लाका सिडिओहरूबीच छलफल हुने तय भएको जनाइएको छ ।
बैठकमा पछिल्ला दिनमा कोरोना संक्रमणदर पनि क्रमशः घट्दै गइरहेको र कोरोनामुक्त हुनेको संख्यामा वृद्धि आउँदै गएकाले जारी निषेधाज्ञालाई केही खुकुलो पार्ने भन्नेबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
कतिपयले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्नेमा जोड दिएका छन् भने कतिपय विज्ञले समेत संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाव दिएका छन् । निषेधाज्ञालाई अझ लामो समयसम्म जारी राख्दा सर्वसाधारणलाई दैनन्दिनीय जीवनयापन गर्न गाह्रो हुने भएकाले संक्रमण नियन्त्रण हुनेगरी मापदण्ड लागू गरेर निषेधाज्ञा खोल्नुपर्ने प्रायः विज्ञहरूको मत छ ।
उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । गत जेठ १३ गतेदेखि थपिएको एक साता लामो निषेधाज्ञामा एक साताका लागि खाद्यान्न सामग्रीहरू समेत अगाडि नै किन्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो । उक्त निषेधाज्ञा जेठ २० गते सकिँदैछ।
प्रतिक्रिया