काठमाडौं । नेपालगन्जको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् ।
दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको थियो । गत ४ जेठमा अस्पतालमा भर्ना भएका उनको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो । उनको मृत्यु भएलगत्तै उनका आफन्तले स्वास्थ्यकर्मीलाई हातपात गर्दै अस्पतालमा तोडफोडसमेत गरेका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले संक्रमितको निधन भएलगत्तै स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालमा तोडफोड भएको बताए । ‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने, ‘धन्न हाम फालेको ठाउँमा बालुवा थियो, त्यसैले केही भएन ।’ आक्रमणकारीहरूले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएका छन् ।
एक्कासि आक्रमण सुरु भएपछि उपचारमा व्यस्त चिकित्सक र स्टाफ नर्सहरूको भागाभाग भएको थियो । चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड भएको केही समयभित्रै अस्पतालमा थप दुईजना बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आक्रमणपछि अस्पताल अस्तव्यस्त भयो, स्वास्थ्यकर्मी तितरबितर भए । यो भयानक दृश्य देखेर केही गम्भीर बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रहरीले अस्पताल तोडफोड र चिकित्सक तथा स्टाफ नर्समाथि हातपात गरेको आरोपमा मृतकका भाइ मानबहादुर रावतसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
घटनापछि भेरी कोभिड विशेष अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी नभए काम बहिष्कार गर्ने चेतावनी दिएका छन् । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया