काठमाडौं । नेकपा एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका अष्टलक्ष्मी शाक्यसहित बागमती प्रदेशसभाका १४ जना सदस्यले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बताए ।
बोर्डले एमाले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधव नेपाल पक्षका १४ जना प्रदेश सभा सदस्यहरूसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने मुख्य सचेतक निरौलाले बताए ।
‘उहाँहरूलाई कारबाही गर्ने सम्पूर्ण अधिकार बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ,’ निरौलाले भने । बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीसँग स्पष्टीकरण मागेको थियो ।
उनीहरूमाथि एमाले राष्ट्रियसभा उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापालाई हराएको आरोप लगाइएको छ । राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका जनप्रतिनिधिले मत नदिँदा थापा पराजित भएका थिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमाले नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट उम्मेदवार बनेका खिमलाल देवकोटा निर्वाचित भएका थिए ।
प्रतिक्रिया