काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ ।
नयाँ सरकार गठनमा निर्णायक देखिएको जसपाले बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनका सम्बन्धमा छलफल र निर्णय गर्ने छ।
जसपाले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा समर्थन गर्नेबारे बैठकमा छ्लफल र निर्णय हुने एक नेताले बताए । यो बैठकमा जसपाको उपेन्द्र यादव समूह सहभागी हुने नहुने निश्चित भैसकेको छैन ।
जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए । राष्ट्रपतिले ७६ (५) को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छिन् ।
मुख्य विपक्षी दल नेपाली कांग्रेसको पनि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ ।
प्रतिक्रिया