बैशाख भित्रै माथिल्लो तामाकोशिबाट ७६ मेगावाट बिजुली उत्पादन हुने,साउनमा सबै युनिट संचालनमा आउने

बैशाख भित्रै माथिल्लो तामाकोशिबाट ७६ मेगावाट बिजुली उत्पादन हुने,साउनमा सबै युनिट संचालनमा आउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिनाभित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी दिएका हुन्।

उनलेले पहिलो युनिटबाट बैशाख भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको बताए।

उनले भने- ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा बैशाख भित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने बताए।  यसरी आगामी भदौ महिनाभित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए ।

उनले भने- ‘हामी बैशाख भित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौं ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शुरु गर्ने रहेपनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको  जानकारी दिए।

बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन शुरु हुँदा बैशाख ३१ गते सम्भव हुने बताए।

उनले भने- ‘बैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन शुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्वीच गरेर बैशाख ३१ गते आशा गर्दैछौं । तर अहिलेको तालिका अनुसार जेठ २ गते भनेर गरेका छौं । त्यस हिसाबले पहिलो युनिट आइसके पछाडी असार मसान्त सम्म चारवटा युनिट आउँछ र साउन मसान्त सम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ ।’

आयोजनाको  काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए।

साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन शुरु भइसक्ने उनको भनाई छ।

Recent Comments

No comments to show.