राष्ट्रपतिले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने, प्रधानमन्त्री पनि सहभागी हुने

राष्ट्रपतिले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने, प्रधानमन्त्री पनि सहभागी हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची पानीको उद्घाटन गर्दैछिन् ।

भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम छ। दिउँसो दुई बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन्।

काठमाडौँमा चैत १५ गते देखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पनि पानी वितरण सुरु गरेको छ।

बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए।

अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ। लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए।

उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ। यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो।

एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए।

दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ÷साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो ।

पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन्।

Recent Comments

No comments to show.