राजविराज । सप्तरी जिल्लामा बालिकालाई जचाउन आएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ ।प्रहरीले शुक्रबार राजविराजस्थित छिन्नमस्ता अस्पतालका डा.राजन जैसवाललाई पक्राउ गरेको हो । उपचारको बहानामा डा.जैसवालले यौन दुर्व्यवहार गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा.जैसवाललाई पक्राउ गरिएको बताए ।
अस्पतालले समेत तत्कालै डा.जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा.जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लील क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको प्रहरीलाई बयान दिएकी छिन ।
डिस्चार्ज भइसकेको अवस्थामा पुनः केही औषधि लेखेर डा.जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लील क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताएकी छिन् । डा.जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताएका छन् ।
पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया