सफलता प्राप्तिकाे लागि इमान्दारिता महत्वपूर्ण रहन्छः व्यवसायी कृष्ण श्रेष्ठ

सफलता प्राप्तिकाे लागि इमान्दारिता महत्वपूर्ण रहन्छः व्यवसायी कृष्ण श्रेष्ठ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल निटिङ हाउस हातबाट बुनिने मौलिक पहिचानका विभिन्न कपडाजन्य वस्तुहरु उत्पादन कार्यमा संलग्न रहँदै आएको कम्पनी हो । यस कम्पनीले आफ्ना उत्पादनहरु मुख्यतः अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्छ । यस कम्पनीको सञ्चालन नुवाकोटका कृष्ण श्रेष्ठले गर्दै आएका छन् । श्रेष्ठ एक जागरुक युवा उद्यमी समेत हुन् । उच्च शिक्षा अध्ययनको उद्देश्यले काठमाडौं प्रवेश गरेका उनले आफूलाई एक सफल व्यवसायीको रुपमा स्थापित गरेका छन् । हाल उनको उद्योगले स्वेटर, टाेपी, पञ्जा, माेजा, गलबन्दी लगायतका सामानहरु उत्पादन गर्दै आएको छ । कृष्ण नेतृत्वको यो कम्पनी काठमाडौंको म्हेपी क्षेत्रबाट सञ्चालमा छ । उक्त उद्योगले उद्यमशिलता प्रवद्धनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । अहिले आफ्नो उद्योगबाट करिब डेढ सय व्यक्तिलाई रोजगारी सृजना गर्न सफल छन् कृष्ण श्रेष्ठ । नेपाल निटिङ हाउसले हाल काठमाडौंको म्हेपीको अलावा भक्तपुरबाट समेत उत्पादन सम्बन्धी काम गर्दै आएको छ । अहिले कृष्णले आफ्नै भवनबाट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

जागिर हुँदै उद्यमशिलतामा प्रवेश:

काठमाडौंमा अध्ययनकै लागि प्रवेश गरेपनि तत्कालिन आर्थिक अवस्थालाई सन्तुलनमा राख्नको लागि उनले जागिर गर्नुपर्ने भयो । कृष्णले एउटा निटिङ सम्बन्धी काम गर्ने कम्पनीमा जागिर शुरु गरे । सानै देखि खेलकुद प्रति चासो राख्ने उनले आफूलाई खेलकुद क्षेत्रमा पनि सक्रिय गराउँदै लगे । काठमाडौंमा उनी आफैंले हेल्थ क्लब समेत सञ्चालन गरे । क्लब पनि राम्रै चलेको थियो । त्यो कृष्णको उद्यमशिलताको पहिलो प्रयाश थियो ।

कामलाई सम्मान गर्ने कृष्ण :

आफ्नो काम प्रति औधी रुचि राख्ने कृष्ण आफू संलग्न जुन जे–जस्तो भएपनि सम्मान गर्नुपर्ने बताउँछन् । उनी आफू पनि कामलाई सम्मान गर्ने व्यक्ति हुन् । सोहीकारण आफू संलग्न कम्पनीमा रहँदा उनले इमान्दारितापूर्वक जिम्मेवारी पूरा गरे । आफू आवद्ध क्षेत्रमा सकेसम्म धेरै ज्ञान हासिल गर्न उनी चासो राखिरहन्थे । जसले गर्दा सम्बिन्धित क्षेत्रका सबैजसो कामहरु सिके । उनलाई आफूले हासिल गरेको सीपले कुनै दिन ठूलै उद्यमी बनाउला भन्ने लागेको त थिएन । तैपनि कृष्ण सानै देखि काम प्रति इमान्दार र कर्मठ भने थिए । केही बर्ष उक्त कम्पनीमा काम गरिरहँदा आफूले काम गरिरहेको कम्पनी नै बन्द हुन पुग्यो । जसले गर्दा उक्त कम्पनीबाट अलग्गिएर अर्को अलग विकल्प खोज्नुपर्ने भयो ।

उद्यमशिलताको बाटो :

रोजगारी गुमेको कारण अब के गर्ने भन्ने अन्यौलतापूर्ण अवस्थामा पुगे कृष्ण । त्यही कठोर परिस्थितिमा आफ्नो लागि उपयुक्त विकल्प खोजी गर्ने क्रममा कृष्णलाई लाग्यो कि अब म पुनः जागिरमा लाग्नुहुँदैन, आफूसँग भएको ज्ञान र अनुभवको आधारमा आफैंले व्यवसाय शुरु गर्नुपर्छ । दृढ आत्मविश्वासका साथ कृष्णले आफू उद्यमी बन्ने बाटो रोजे ।

अनुभव रहेकै क्षेत्रमा निरन्तरता :

कृष्णसँग जुन क्षेत्रको राम्रो ज्ञान थियो, त्यही क्षेत्रमा उनी संलग्न भए । व्यावसायिक शुरुवात चुनौतीपूर्ण थियो । आफ्नो नयाँ यात्रा कता जाने हो भन्ने सुनिश्चित थिएन । तैपनि आफ्नो मेहनल, लगनशिलता र निरन्तरताको प्रतिफल मिठो हुन्छ भन्ने कुरा कृष्णलाई राम्र्ररी थाहा थियो । सोहीकारण कृष्णले विभिन्न आरोहअवरोध र नाफाघाटालाई विचारै नगरी जस्तोसुकै परिस्थिति आइपरेपनि आफू संलग्न रहेको क्षेत्रमा नै सक्रिय भइरहने निर्णय लिएका हुन् ।

निटिङ क्षेत्रमा जनशक्तिको समस्या :

नेपालमा निटिङ (बुनाई) क्षेत्रमा काम गर्नको लागि दक्ष जनशक्तिको सहज उपलब्धता सबैभन्दा ठूलो चुनौती हो । हुनतः नेपालमा लामो समय देखि असंगठित रुपमा निटिङ सम्बन्धी काम हुँदै आएको थियो । महिला दिदीबहिनीहरुले आफ्नो पारिवारिक आवश्यकता पूरा गर्ने उद्देश्यले विभिन्न सामानहरु थोरै क्षमतामा उत्पादन गर्दै आएकोमा अहिले यही क्षेत्र ठूलो र व्यवस्थित बनेको छ । बुनाई सम्बन्धी काम केही समय सिक्न चाहेमा सिक्न सकिने काम हो । तैपनि यस क्षेत्रमा निरन्तर लागिरहने मानिस पाउन गाह्रो छ । अन्य क्षेत्रको तुलनामा भक्तपुर, बनेपा, कीर्तिपुर लगायतका क्षेत्रहरुबाट जनशक्ति जुटाउन सहज हुने कृष्णको अनुभव छ । निटिङ सम्बन्धी काम परिश्रममा आधारित काम भएपनि यस कामबाट राम्रो आर्थिक उपार्जन गर्न सकिन्छ । बाह्य मुलुकबाट मुद्रा भित्र्याउनको लागि यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । श्रममा आधारित यस काममा निकै ठूलो मात्रामा जनशक्ति आवश्यक पर्ने भएकोले राम्रो वातावरण बनेको खण्डमा यस क्षेत्रलाई ठूलो रोजगारी उपलब्ध गराउने क्षेत्रको रुपमा विस्तार गर्न समेत सकिन्छ ।

बजार : 

नेपालमा उत्पादन भएका निटिङजन्य सामानहरुको माग विश्व बजारमा राम्रो छ । यी सामानहरु उत्पादन भएपश्चात् तत्काल नै निर्यात गर्न सकिन्छ । नेपालमा उत्पादन भएका यस्ता सामानहरु निर्यात गरेर राम्रो आर्थिक लाभ समेत लिन सकिने अवस्था छ । नेपालमा उत्पादन हुने यी सामानहरु प्रति विदेशीहरुको विशेष चासो रहँदै आएको छ । सोहीकारण नेपालमा उत्पादन हुने यस्ता सामानहरुको बजार उत्साहजनक छ । यद्यपि तत्कालको लागि भने कोभिड–१९ को असर यस क्षेत्रमा पनि परेको छ । जसले गर्दा बाह्य कारोवार घटेको छ । आगामी दिनमा भने यस क्षेत्रको सम्भावना पुनः निकै राम्रो हुने देखिन्छ । नेपालमा उत्पादन हुने यस्ता निटिङजन्य सामानहरुको मुख्य बजार युरोप हो ।

श्रम गर्नेहरुले स्वदेश नै रोज्नु उपयुक्त :

आफ्नो उद्योगमा काम गर्ने जनशक्तिमध्ये अधिकांश महिलाहरु रहेको कृष्ण बताउँछन् । नेपालीहरु रोजगारीको लागि विदेशिएको प्रसङ्गलाई जोड्दै कृष्ण मेहनत गर्न चाहने व्यक्तिको लागि विदेश नभई स्वदेशमा पनि अवसरहरु सृजना गर्न सकिने कृष्णको धारणा छ । कतिपय व्यक्तिहरु आफ्नो उद्योगमा रहेर काम गर्ने क्रममा राम्रो आय प्राप्त हुने आकाङ्क्षा सहित वैदेशिक रोजगारीमा समेत जाने भएपनि बाहिर रहँदा भोग्नुपरेको दुखकष्टहरुको कारण नेपाल फर्किएपश्चात् पुःन आफ्नो उद्योगमा नै फर्केर काममा लागेका छन् । जहाँ गएपनि मेहनत र पुरुषार्थ आवश्यक रहन्छ नै । यस्तो कुरालाई विचार गर्दै सम्भव रहेसम्म स्वदेशमा नै परिश्रम गर्ने हो भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा थुप्रै लाभ लिन सकिन्छ । सोही मान्यताले नेपालमा नै उद्यमशिल पाइला अघी बढाएका कृष्ण आफ्नो क्षेत्रमा सन्तुष्ट छन् । आगामी दिनमा पनि आफ्नो उद्यमशिल यात्रालाई अझ सशक्त बनाउँदै अघी बढाउने बताउँछन् उनी । 

कच्चा पदार्थ:

हाल आफ्नो उद्योगलाई आवश्यक पर्ने भेँडाको उन कृष्णले बेलायत, चिली, न्युजिल्याण्ड लगायतबाट आयात गर्दै आएका छन् । जापान, ताइवान र स्वीट्जरल्याण्ड लगायतबाट समेत आवश्यकता बमोजिमका विभिन्न वस्तुहरु उनले भित्र्याउँदै आएका छन् । आफ्नो उद्योगले मानिसको शरीरमा प्रत्यक्ष रुपमा कुनै असर नपर्ने उच्च गुणस्तरीय रङ र कपडाहरु कृष्णले प्रयोग गर्दै आएका छन् । आफूले नर्थ फेस, एडिडास लगायतका उद्योगले प्रयोग गर्ने कपडा नै प्रयोग गर्दै आएकोले आफ्ना उत्पादनहरु उच्च गुणस्तरीय र स्वस्थकर रहेको दावी गर्छन् कृष्ण ।

कृष्णको व्यावसायिक शुरुवात : 

कृष्णले आफ्नो पारिवारिक व्यवसायको रुपमा नै अघी बढाउँदै व्यवसायलाई अहिलेको अवस्थामा ल्याएका हुन् । करिब ५ लाख रकम लगानीमा शुरुवात भएको उनको उद्यमशिल यात्रा अहिले एक प्रतिष्ठित व्यवसाय बनेको छ । ठमेलमा एउटा सानो पसल भाडामा लिएर अघी बढेको आफ्नो यात्रा सफल बन्नुमा आफ्नी श्रीमतीको समेत महत्वपूर्ण सहयोग र संलग्नता मुख्य रहेको कृष्ण बताउँछन् । आफ्ना शुरुवाती दिनहरु कष्टकर भएपनि आफूलाई कहिल्यै त्यस्तो महसुस नभएको कृष्णले बताए । विहान ४–५ बजे नै उपत्यका भित्रका विभिन्न ठाउँमा पुगिसक्नुपथ्र्यो । कहिले भक्तपुर, कहिले कीर्तिपुर त कहिले बनेपा ।

गुणस्तरमा विशेष जोड :

कृष्णले आफ्ना उत्पादनको गुणस्तरीयतामा विशेष जोड दिँदै आएका छन् । आगामी दिनमा आफ्ना उत्पादनहरुलाई अन्तर्राष्ट्रिय रुपमा चर्चित ब्राण्ड बनाउने योजना बमोजिम कृष्णले आफ्नो बजार विस्तारको रणनीति लिएका छन् । व्यवसायमा सफलता प्राप्तिको लागि इमान्दारिता महत्वपूर्ण हुँदोरहेछ भन्ने कुराको अनुभव कृष्णले गरेका छन् । सोहीकारण नै कुनै दिन आफैंले मोटरसाइकल कुँदाएर सामानको अर्डर लिन र पुर्याउनुपर्ने व्यवसाय अहिले सम्मानित व्यवसाय बनेको हो भन्ने कुराको अनुभव कृष्णलाई लाग्छ ।

तालिम प्रदायक संस्थाको आवश्यकता :

नेपालमा निटिङ क्षेत्रमा काम गर्ने जनशक्तिहरुलाई तालिम प्रदान गर्न संस्थागत पहल हुनुपर्ने आवश्यकता छ । यसबाट उत्पादनको लागत घटाउन र गुणस्तरीयता बढाउन ठूलो सहयोग पुग्छ । सोहीकारण नेपाल सरकारले आगामी दिनमा बजार आवश्यकता बमोजिमका सीपमूलक तालिम सञ्चालनको लागि कदम अघी बढाउनु पर्छ ।

सफलताको आधार:

इमान्दारीतालाई सफलताकाे मुख्य सूत्र ठान्छन् कृष्ण । विश्वासघात गर्ने व्यक्ति वा कम्पनी लामो समय बजारमा टिक्न सक्दैनन् भन्ने उनको बुझाई छ । आफूले काम शुरु गर्ने समयमा नेपालका ठूला र चर्चित कम्पनीहरु अधिकांश अहिले बन्द भइसकेका छन् । सञ्चालनमा रहेका कम्पनीहरुको पनि कारोबार खुम्चिएको छ । बजारमा ढिलो स्थापना भएर पनि राम्रो तवरले बजार विस्तार गर्न आफू सफल भएकोमा कृष्ण गौरवान्वित महसुस गर्छन् ।

अन्त्यमा,

शुरुवाती दिनमा हरेकले केही समस्या त अवश्य भोग्नुपर्छ । तर कामलाई सानो ठूलो भनेर हेय दृष्टि राख्नुहुँदैन । शून्यबाट शुरु गरेको व्यवसायले पनि लगनशिलता हुने हो भने माथि उठाउँछ । हरेक युवाले काम प्रति इमान्दार हुने हो भने अवश्य सफल हुन सकिन्छ । रोजगारीको लागि विदेशमा जाने युवाहरुले बाह्य भूमिमा निकै दुख पाएका छन् । नेपालमा पनि केही गर्न चाहनेको लागि भने यहीँ पनि प्रयाप्त सम्भावनाहरु छन् । जुन कृष्णको जीवनभोगाईमा आधारित सन्देश हो ।

Recent Comments

No comments to show.