नागरिक स्वस्थ बनाउन खेलकुद अनिवार्य : मुख्यमन्त्री शाही

नागरिक स्वस्थ बनाउन खेलकुद अनिवार्य : मुख्यमन्त्री शाही

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन्। 

प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार-११ र एन्फा-११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकुद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकूद आवश्यक भएको बताए।

“खेलाडीमा राष्ट्रिय भावना हुन्छ र त्यही राष्ट्रिय भावना पैदा गर्ने हिसाबले छ वर्षदेखि माथिका बालबालिकाका निम्ति विद्यालयमा खेल शिक्षक भर्ना गरी उनीहरुलाई प्रशिक्षित गर्ने सोच बनाएका छौँ,” मुख्यमन्त्री शाहीले भने, “यसबाट स्वस्थ नागरिक मात्र नभई कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको छ।”

यसका लागि प्रत्येक जिल्लामा खेलाडी उत्पादन गर्न तालिम केन्द्र स्थापना गर्ने सोच रहेको उनले बताए। खेल क्षेत्रलाई चलायमान बनाई यहाँका नागरिकलाई खेल क्षेत्रमा आकर्षित गर्न र दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने सन्देश दिन प्रदेश सरकार-११ र एन्फा-११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको मुख्यमन्त्री शाहीको भनाइ थियो। 

सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा एन्फा-११ ले ३-१ गोल अन्तरले विजयी भएको थियो। एन्फाका उपाध्यक्षसमेत रहेका एन्फा-११ का कप्तान उपेन्द्रमान सिंहले कर्णाली प्रदेशका १० जिल्लामा फुटबल खेल सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको र त्यसको प्रस्तावना प्रदेश सरकारलाई बुझाइएको बताए। कोभिड-१९ का कारण गत वर्ष चैत ११ पछि ठप्प खेल गतिविधि सञ्चालनले खेलप्रेमीमा हौसला ल्याएको जिल्ला फुटबल महासङ्घ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले बताए।

रासस

Recent Comments

No comments to show.