पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट लगाइयो कोरोना खोप

पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट लगाइयो कोरोना खोप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोना खोप लगाउन सुरु गरिएसँगै आम नागरिकमा आशा र उत्साह सञ्चार भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिए । प्राविधिक कारणले बाँकी जिल्लामा खोप सेवा सुरु हुन नसकेको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क रूपमा पाउने बताए ।

खरिद वा अनुदान जुनसुकै माध्यमबाट प्राप्त भए पनि नेपाली नागरिकलाई खोप निःशुल्क गरिने जानकारी दिँदै उनले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको नीति रहेको बताए । प्रम ओलीले बिनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई खोप दिने बताए । सरकारले पहिलो अभियान १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले खोप कार्यक्रमअन्र्तगत प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमती प्रदेशमा दुई हजार ६९४, गण्डकी प्रदेशमा एक हजार ८४३, लुम्बिनी प्रदेशमा ७३३, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएको जानकारी दिए ।

मन्त्रालयका अनुसार खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । मन्त्रालयका अनुसार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताललगायतमा खोप अभियान सुरु गरिएको छ । यी अस्पतालमा प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीका साथै स्वास्थ्य मन्त्रालयका पदाधिकारीले स्थलगत अनुगमन गरेका थिए ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना खोप लगाएपछि निश्चिन्त भएको बताउँदै खोप लगाएर आफू गौरवान्वित भएको उल्लेख गरे । उनले भने, “ढुक्क भएर खोप सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि मैले पहिलो खोप लगाएँ ।”

एक वर्षअघि चीनको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिन सुरु भएको हो । नेपालमा पनि गत २०७६ साल माघ ९ गते कोरोना भाइरसको पहिलो सङ्क्रमण देखिएको थियो । चीनको वुहानबाट आएका एक नेपाली युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोरोनाबाट हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दुई लाख ६५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले आफूले ढुक्क भएर खोप लगाएको बताए । उनले कोरोना खोप अन्य खोपजस्तै सामान्य भएको भन्दै यसले कुनै असर नगर्ने दाबी गरे । उनले कोरोना खोप लगाएपछि मानिस मर्छन्, बौलाउँछन् भन्नु भ्रम हुने भएकाले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई सुझाव दिए । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

Recent Comments

No comments to show.