काठमाडौं। भोलीदेखि सरकारले सातै प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ। भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप भोलीदेखि वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशको खोप भण्डाराण केन्द्रहरूमा पु¥याईसकेको छ।
माघ १४ अर्थात भोलिदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने सरकारको तयारी छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार आगामी माघ १४ गते बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन्।
प्रधानमन्त्री ओलीको घोषणासँगै काठमाडौंमा कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन्। उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए। त्यसपछि सातै प्रदेशका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट एकैसाथ कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिनेछ।
पहिलो चरणको खोप अभियानमा संघ, प्रदेश र स्थानीय तहमा सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ को नियन्त्रण तथा जोखिम न्यूनीकरणमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीहरुलाई प्राथमिकतामा राखिएको छ। स्वास्थ्य मन्त्री त्रिपाठीले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको जानकारी दिए।
प्रतिक्रिया