जब बाकसमा आइपुगे परदेशबाट आफन्त

जब बाकसमा आइपुगे परदेशबाट आफन्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘बिहानै ड्युटी छ, दिनभर कामले थकित भएको छु, म अब सुतिहाल्छु,’ श्रीमती र ६ वर्षीया छोरीलाई यति भनेर फोन काटेका मिलन लामा तामाङ त्यसपछि सम्पर्कमा आएनन् । गत मंसिर ३० को राति उनी खाना खाँदै परिवारसँग कुराकानीमा जोडिएका थिए । 

मिलन ३१ महिनादेखि मलेसियाको जोरवारुस्थित बिस्कुट उद्योगमा कार्यरत थिए । हरेक बिहान फोन सम्पर्कमा आउने उनी पुस १ मा भने आएनन् । दिनभर मोबाइल स्विच अफ नै रह्यो । ‘बेलुका पो हामीलाई कम्पनीको सुपरभाइजरले फोन गरेर भाइले आत्महत्या गरेको खबर सुनायो,’ मिलनका दाइ सुरेन्द्रबहादुरले कान्तिपुरसँग भने, ‘त्यतिखेर हामी त छाँगाबाट खसेजस्तै भयौं ।’ 

मिलनका परिवारले अझै आत्महत्यालाई स्वीकार गर्न सकेको छैन । शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलनको शव बुझेर दाहसंस्कारका लागि त्रिशूली लैजान गाडीमा बसेका सुरेन्द्र भन्दै थिए, ‘आत्महत्या गर्नुको पनि कारण हुन्छ । त्यस्तो कारण परिवारबाट छैन । हाम्रो परिवारमा सबै ठीक छ । कि मलेसियामै केही हुनुपर्‍यो ।’ सुरेन्द्रका अनुसार मिलनले माघमा नेपाल आउने बताएका थिए । घटनाबारे थप अनुसन्धानका लागि कम्पनीलाई आग्रह गरे पनि सुनुवाइ नभएको सुरेन्द्रले गुनासो गरे । ‘हुन त हाम्रो मान्छे फेरि जिउँदो भएर आउने होइन । तैपनि भाइको ज्यान किन र के कारणले गयो भन्ने त थाहा पाउन पाए हुन्थ्यो,’ उनले भने । 

शनिबार मिलनसँगै १८ जनाको शव र एक जनाको अस्तु नेपाल ल्याइएको छ । विमानस्थलको कार्गो कार्यालयमा शव बुझ्न आउने मृतकका आफन्त, परिवार र साथीभाइहरू मृत्युको कारणबारे एकअर्कालाई सोधखोज गरिरहेका थिए । 

जसमध्ये धेरैजना आफ्नो मान्छेको मृत्यु कसरी भयो भन्नेमा जानकार नै थिएनन् भने केहीले प्राकृतिक मृत्यु भएको भन्नेमा शंका गरिरहेका थिए । 

सिन्धुली बेलघारीका कुमार तामाङ सँगै काम गर्ने साथीभाइले भनेपछि दाजु सूर्यबहादुर तामाङको कालगतिले नै मृत्यु भएको पत्याउनुपरेको बताउँछन् । कामबाट फर्किएर मंसिर २८ को राति कोठामा सुतेका सूर्य त्यसपछि ब्युँझिएनन् । उनी ३१ महिनादेखि मलेसियास्थित एक गार्मेन्ट उद्योगमा काम गरिरहेका थिए । ‘बेलुका खाना खाएर सुत्नु भएको थियो । बिहान ब्युँझिनु भएन रे,’ कुमारले सुनाए, ‘दाइसँग गाउँघरका साथीहरू पनि काम गर्नुहुन्थ्यो । उनीहरूले पनि त्यही भनेपछि पत्याउनै पर्‍यो ।’ कुमारका अनुसार सूर्यले आगामी जेठमा सधैंका लागि स्वदेश आउने बताएका थिए । 

सूर्यबहादुरको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । उनका साढे ४ वर्षका छोरा र ९ वर्षकी छोरी छन् । काठमाडौंमै अन्तिम संस्कार गर्ने भएपछि परिवारजन र आफन्त शुक्रबार नै काठमाडौं आएको बताउँदै कुमारले भने, ‘हामीलाई त मन बुझाउनै कठिन भइरहेको छ ।’ अर्जुनधारा–६ झापाका ३७ वर्षीय विष्णुकुमार चौधरीको शल्यक्रिया असफल हुँदा ज्यान गयो । 

‘अल्सर देखिएपछि अप्रेसनको तयारी हुँदै थियो । उच्च रक्तचाप पनि रहेछ । एक्कासि मुटुको चाल घटेर अप्रेसन नै सफल भएन,’ विष्णुकी श्रीमती हेमकुमारीको भनाइ उद्धृत गर्दै जेठान डम्बर यादवले भने, ‘उपचारमै लापरबाही भयो । परदेशमा कसले ध्यान दिन्छ र ?’ हेमकुमारी र विष्णु मलेसियामा सँगै काम गर्थे । श्रीमान्को मृत्यु भएको १० दिनपछि अन्तिम संस्कार गर्न उनी शव लिएर स्वदेश आएकी हुन् । 

विष्णु १० वर्षदेखि मलेसियामा कार्यरत थिए । उनका १५ वर्षका छोरा र १२ वर्षकी छोरी छन् । ‘शवलाई घरसम्म लैजाने व्यवस्था वैदेशिक रोजगार बोर्डले गरिदियो । हामीले शवलाई गाउँमै लिएर आयौं,’ यादवले भने । 

बोर्डका अनुसार गत डिसेम्बरमा मृत्यु भएका एक जनाको अस्तु र १८ जना नेपाली कामदारको शव शनिबार ल्याइएको छ । जसअन्तर्गत मिलन, सूर्य र विष्णुसहित बाँकेका तीर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लीलाबहादुर खड्का, धनकुटाका भीमबहादुर मगर, काभ्रेका अजय तामाङ, ताप्लेजुङका धनबहादुर विक, नेत्रप्रसाद भट्टराई, रौतहटका वीरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, सुनसरीका मोहम्मद मिस्तार, मोरङका रामकुमार मुदियारको शव काठमाडौं ल्याइएको हो । 

उतै सद्गद गरिएका निजगढका वीरबहादुर तामाङको भने अस्तु मात्रै आएको छ । ती शवलाई नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० ले बिहान ८ः३० बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याएको थियो । मलेसियामा अझै १६ जनाको शव ल्याउन बाँकी छ । ‘न्यारोबडी विमानले शव बोक्दैन । पहिलाजस्तो थाई र मलेसियन एयर नेपाल नउड्दा समयमा नै शव पठाउन सकिएको छैन । निकै जोडबल गरेपछि मात्रै नेपाल एयरलाइन्सको वाइडबडी आयो,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘फेरि वाइडबडी नआएसम्म बाँकी शव पठाउन सकिन्न ।’ वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु मलेसियामा नै हुने गरेको छ । सन् २०२० मा एक महिलासहित २ सय ७५ जना नेपालीको मलेसियामा मृत्यु भएको तथ्यांक छ । नेपाली दूतावासका अनुसार धेरैजसो नेपालीको मृत्यु क्रोनिक खालको रोग, आत्महत्या र सडक दुर्घटनाका कारण भइरहेको छ । कहिलेकाहीं कुटपिटका कारणले पनि नेपालीको ज्यान जाने गरेको छ । कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।

Recent Comments

No comments to show.