बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । 

बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो । 

प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई संयोजक तोकिएको छ । 

यस्तै लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई संयोजकका रूपमा खटाइएको छ । 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा सोमबारसम्म पठाइसक्ने तयारी छ । करिब ३ सय अस्पतालबाट खोप लगाउने बताइएको छ । 

भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा कोरोनाविरुद्धको खोप गत बिहीबार नेपाल भित्रिएको थियो । अहिले सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ । अनुदानमा आएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सफाइ कर्मचारी, शव व्यवस्थापकलाई लगाइनेछ । 

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप नेपाल भित्रिएको एक साताभित्र लगाउने योजना रहेको बताए । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ गरिने बताएका थिए । राजधानी दैनिकमा खबर छ ।

Recent Comments

No comments to show.