माघे संक्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

माघे संक्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । सोमबार विदुरमा  आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् ।

यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि सीमित रुपमा गोरु जुधाइने भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । यस वर्ष वरपरका चार हल मात्र गोरु जुधाइने योजना बनाएको क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए।

कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उनले बताए। बेत्रावतीमा विजेता गोरुधनी किसानलाई रु पाँच हजार, हार्ने गोरुधनी किसानलाई रु चार हजार पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ।

यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए। विजेता तथा सहभागी गोरुका धनीलाई रु १५, १० र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यस्तै शिवपुरी गाउँपालिका–५, शेराबगरमा चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए।

Recent Comments

No comments to show.