ब्रोकरले संस्थागत सामाजिक उत्तरदायित्वमा १ प्रतिशत रकम अनिवार्य खर्च गर्नुपर्ने

ब्रोकरले संस्थागत सामाजिक उत्तरदायित्वमा १ प्रतिशत रकम अनिवार्य खर्च गर्नुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डले सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरलाई लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रममा अनिवार्य रुपमा निश्चित रकम खर्च गर्नुपर्ने गर्नुपर्ने व्यवस्था गरेको हो ।

सोमबार धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगेर एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको तथा दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएका कारण बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्दै गएको छ ।’

लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुको सहभागीताको आवश्यकता रहेको बोर्डले जनाएको हो ।

बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा १ प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको छ ।’

धितोपत्र व्यवसायीको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुख रुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने भएकोले लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

बोर्डले ब्रोकरलाई अनिवार्य सीएसआरसम्बन्धी कार्य गर्न निर्देशन दिएपछि सेयर बजार शिक्षा देशव्यापी बनाउन सघाऊ पुग्ने बताइएको छ। हालसम्म बोर्डबाट ५० वटा ब्रोकर कम्पनीले अनुमति पाएका छन्। मोफसलमा ब्रोकरका ४७ वटा शाखा सञ्चालनमा छन्।

Recent Comments

No comments to show.