ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु भएको छ।

मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ।

अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो।

हिंसात्मक प्रदर्शनको क्रममा मारिएकी महिलाको पहिचान खुलेको स्थानीय प्रहरीले जनाएको छ। उनी सान डियागोमा बस्ने एश्ली बैबिट रहेको प्रहरीले बताएको छ। अमेरिकी मिडियाका अनुसार एश्लीले अमेरिकी हवाई सेनामा काम गरिसकेकी छन्।

रिपोर्टअनुसार अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङ)मा प्रवेश गर्न लागेको बेला एश्लीलाई गोली लागेको हो। उनी अन्य प्रदर्शनकारीसँगै उक्त भवनमा प्रवेश गर्न लागेकी थिइन्। उनी ट्रम्प समर्थक रहेको अमेरिकी टेलिभिजन फक्स न्यूजले जनाएको छ।

अमेरिकी राजधानीका मेयरले वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल जारी हुने बताएका छन् ।

यो आपत्‌काल घोषणापछि सहरभरिका बासिन्दाको सुरक्षाका लागि थप स्रोत-साधन र सेना खटाइने संकेत देखिएको छ । जसमा कर्फ्यु पनि जारी रहनेछ भने अतिआवश्यक उपभोग्य वस्तुहरु वितरण गर्नेलगायत आपत्‌कालीन कार्यको तयारी पनि गरिनेछ । यो आदेश आगामी जनवरी २१, बाइडेनको ह्वाइट हाउस प्रवेश कार्यक्रमको भोलिपल्ट, दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए।

ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए। सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए।

Recent Comments

No comments to show.