ललितपुर उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी,अध्यक्षमा न्याछ्यों प्यानल बलियो

ललितपुर उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी,अध्यक्षमा न्याछ्यों प्यानल बलियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको नेतृत्व आफ्नो पोल्टामा पार्न भरतलाल जोशी र मनोजबहादुर न्याछ्यों प्यानल चुनावी मैदानमा उत्रिएका छन्। 

वरिष्ठ उपाध्यक्षमा जोशीको प्यानलबाट बालकृष्ण श्रेष्ठ, उपाध्यक्षहरुमा उद्योग तर्फबाट अमिरराज ताम्रकार, वाणिज्य तर्फबाट उसन बज्रचार्य, संस्थागत तर्फबाट राजेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । न्याछ्योको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षहरु उद्योग तर्फबाट सुसन महर्जन, वाणिज्य तर्फबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठको उम्मेवारी परेको छ । 

न्याछ्योंको प्यानलबाट महासचिवमा रुपकमान महर्जन, कोषाध्यक्षमा सविनलाल प्रधानको उम्मेदवारी परेको छ । जोशीको प्यानलबाट महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशीले दिएका छन् । भूमिनन्दन कर्माचार्यले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कार्यसमिति सदस्यमा उद्योगतर्फबाट ६ जना, वाणिज्य तर्फबाट ७ जना, संस्थागत र एशोसिएट तर्फबाट एक/एक जना रहने व्यवस्था छ । 

उम्मेदवारी भने उद्योगतर्फबाट १२ जना, वाणिज्यतर्फ १३ जनाको परेको छ । संस्थागत क्षेत्रबाट पूर्ण बहादुर महर्जन र एशोसिएट क्षेत्रबाट नवीनमान श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

संघमा उपाध्यक्षमा उद्योग, वाणिज्य, संस्थागत र एशोसिएटतर्फबाट गरी चार जना रहने व्यवस्था छ । उपाध्यक्ष (एशोसिएट) का लागि विधानको दफा ६ र ३ मा कम्तीमा ५० वटा एशोसिएट सदस्य पुगे मात्र पदको व्यवस्था हुने प्रावधान भएकाले संघमा सो संख्या नपुगेको हुँदा सो पद रिक्त रहने भएको छ । 

मतदान पुस १८ गते बिहान ८ देखि दिउँसो ३ बजेसम्म पाटनमा हुनेछ । मतगणना मतदान सम्पन्न भएपछि सुरु गरिने र निर्वाचन परिणाम मतगणना सम्पन्न भएपछि गरिने समितिले जनाएको छ । समितिका अनुसार एक हजार ३ सय २० जनाले मतदान गर्ने छन् । 

उम्मेदवारहरुले मतदाताहरुलाई आ–आफ्नो प्यानललाई बहुमतले जिताउन आग्रह गरेका छन् । आफूहरु जितेमा संघलाई अझै बलियो बनाउने दुबै पक्षको दाबी छ । उम्मेदवारहरुले आफू जितेमा संघलाई अझै बलियो बनाउने तथा ललितपुरको मुहार फेर्न, व्यापार र व्यवसायीको आर्थिक विकासका लागि सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसपटकको निर्वाचनमा अध्यक्ष पदका बलिया उम्मेदवार मनोज न्याछ्योंको टीम ‘इमान्दारिता, पारदर्शिता, दुरदर्शिता: उद्योगी व्यवसायीहरुको हकहित हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित चुनावी मैदानमा क्रियाशिल छ ।

आफ्नो टीमबाट आफ्नै कार्यकालमा पूरा हुन सक्ने र सबै व्यवसायीहरुलाई एकतावद्ध गर्दै लैजान सकिने एजेण्डाहरु मात्रै आफूले उठान गरेको र ती आफ्ना सबै एजेण्डाहरु पूरा गरेरै छोड्ने मनोज बताउँछन् ।

ललितपुर उद्योग वाणिज्य संघमा करिब २ दशक देखि विभिन्न भूमिका निर्वाह गर्दै हाल अध्यक्ष पदको लागि उम्मेदवारी दिएका मनोजले ललितपुर क्षेत्रको व्यावसायिक वातावरणलाई नजिकबाट बुझेका छन् ।

ललितपुर क्षेत्रका सबैजसो व्यवसायीहरुसँग घुलमिल भई निकटतम सम्बन्ध स्थापना गरेका मनोज एक सफल व्यवसायी पनि हुन् । उनी व्यावसायिक नेतृत्व क्षमता खाद्यान्न व्यवसाय, सहकारी, व्यापार तथा वितरण क्षेत्र लगायत थुपै्र व्यावसायिक क्षेत्रमार्फत प्रस्तुत गरिरहेका छन् ।

व्यावसायिक संस्थाको नेतृत्वमा इमान्दारिता, पारदर्शिता र दूरदर्शितालाई मुख्य मन्त्र बनाउँदै आफ्ना गतिविधिहरु सञ्चालन गर्न सक्ने व्यक्तिले मात्रै सबै सदस्यहरुको न्याय गर्न सक्ने बताउने मनोज आफूले आफ्नो टीममा सम्बन्धित क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुलाई साथमा लिएर आफू अघी बढिरहेको बताउँछन् ।

आफू नेतृत्वको प्यानल प्रति मतदाताहरुको असीम विश्वास रहेको बताउँदै उनी आफूहरुको कार्यकुशलता एवं सेवाप्रवाहबाट प्रभावित मतदाताहरुको अपार सद्भावबाट आफूले निर्वाचनमा विजय प्राप्त गर्न सफल हुनेमा ढुक्क छन् मनोज न्याछ्यों ।

व्यवसायी मनोजले करिब २ दशकको आफ्नो व्यावसायिक यात्राको दौडानमा २ कार्यकाल संघमा कार्यसमिति सदस्य, १ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेका छन् ।

संघमा सबै समेटिने वातावरण बनाउँछौं वरिष्ठ उपाध्यक्षका उम्मेदवार- बज्राचार्य

विश्वराज बज्राचार्य ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा यसपटक वरिष्ठ उपाध्यक्ष पदको लागि आफूलाई अगाडि सारेका छन् ।

उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न भूमिका निर्वाह गरी व्यवसायीहरुको मनमुटुमा बस्न सफल बज्राचार्य एक कुशल नेतृत्वदायी क्षमताका व्यक्ति हुन् ।

आसन्न निर्वाचनको लागि व्यवसायीहरुसँग भेटघाटलाई तीव्र बनाइरहेका बज्राचार्य आफ्नो टीमको विजय सुनिश्चित रहेको बताउँछन् ।

व्यवसायी आफैं इमान्दार र पारदर्शी हुन सकेको खण्डमा उनीहरु राज्यका नीतिको कारण समस्यामा नपर्ने उनको बुझाई छ ।

ललितपुर उद्योग वाणिज्य संघमा अहिले सम्म करिब १७ सय व्यवसायीहरु मात्र समेटिएका छन् । १०औं हजार व्यवसायीहरु रहेको ललितपुर उद्योग वाणिज्य संघले आगामी दिनमा व्यावसायिक हकहितको लागि अन्य आकर्षित कार्यक्रमहरु ल्याई व्यवसायीहरुलाई थप आकर्षित गनुपर्ने आवश्यकता देख्छन् बज्राचार्य । सोही आवश्यकता पूरा गर्न आफू लगायत आफ्नो सम्पूर्ण टीमको विजय आवश्यक रहेको उनी बताउँछन् ।

बदलिँदो परिवेशमा समयानुकुल व्यावसायिक वातावरण पनि परिमार्जित हुँदै गएको परिस्थितिमा व्यवसायीहरु पनि सोहीबमोजिम अपडेटेड हुँदै जानुपर्ने कुरामा उनी जोड दिन्छन् ।

आफ्नो टीममा क्रियाशिल युवा उद्यमीहरुको व्यापक सहभागिता रहेको र ललितपुरका सबै किसिमका व्यवसायीहरुको आफ्नो टीममा प्रतिनिधिमूलक सहभागिता रहेकोले सबै प्रकृतिका व्यवसायीहरुका पीरमर्का बुझ्न र तिनलाई समाधान गर्न आफ्नो टीम सफल हुने उनको धारणा छ ।

Recent Comments

No comments to show.