पुल निर्माणका लागि माटो परीक्षण गर्न अवरोध

पुल निर्माणका लागि माटो परीक्षण गर्न अवरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली। तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर र व्यास नगरपालिका-५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ। माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदाधिकारीले अवरोध गरेका हुन्।

शान्तिनगरका केही बासिन्दाले हाल झोलुङ्‍गे पुल भएकै ठाउँमा पुल निर्माण हुनुपर्ने र सोही ठाउँमा माटो परीक्षण गर्नुपर्ने माग गरेका छन्। उक्त ठाउँमा यस अगाडि नै माटो परीक्षण गरिएको र उक्त ठाउँमा पुल निर्माण सम्भव नदेखिएको बताइएको छ।

व्यास-३ स्थित महर्षि वेदव्यास संस्कृत मावि नजिक रहेको ठाउँमा माटो परीक्षणका लागि प्राविधिक टोली आइपुगेको छ। शान्तिगरका बासिन्दाले उक्त ठाउँमा विवाद गरेपछि एक/दुई दिनका लागि काम रोक्न आग्रह गरिएको व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए।

“शान्तिनगरका केही साथीहरुले माटो परीक्षण गर्न दिन्नौँ भनेर विवाद गरेपछि नगरप्रमुखसँगको सल्लाहमा एक/दुई दिन काम रोक्न भनेका हौँ,” वडाध्यक्ष श्रेष्ठले भने, “सोमबार पाटनवासी ‘डेलिगेसन’ जानुभएको रहेछ, दुवै ठाउँकै माटो परीक्षण गर्ने अनौपचारिक सहमति भएको थाहा पाएको छु।”

पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले पुल निर्माण हुने/नहुने निश्चित नभइसकेको अवस्थामा माटो परीक्षण गर्न अवरोध गरिनु दुःखद् भएको बताए। “अहिल्यै पुल निर्माण हुन लागेको होइन, सम्भाव्यता अध्ययनका लागि माटो परीक्षण हुन लागेको हो,” उनले भने, “तर बेकारमा विवाद गर्ने काम भयो।”

उक्त ठाउँमा शान्तिनगरवासीलाई भन्दा पनि पाटनवासीलाई पुल अति आवश्यक रहेको उनको भनाइ छ। “पुल चाहिएको हामीलाई हो, जहाँ बने पनि हुन्छ, तर माटो परीक्षणका लागि काम नै गर्न नदिनु दुःखद् हो,” उनले भने।

पाटनका स्थानीयवासी कृष्णनारायण श्रेष्ठले माटो परीक्षणका लागि काममा अवरोध गर्नुभन्दा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए। “दुवै ठाउँमा माटो परीक्षण गर्न सकिन्छ, तर यहाँ त काम गर्नै नदिने वातावरण बन्यो,” उनले भने, “शान्तिनगर र पाटनवासीबीच सहमति गरेर काम अगाडि बढाउन आवश्यक छ।”

माटो परीक्षणका लागि अवरोध भएपछि पाटनवासीले व्यास नगरपालिका घेराउ गरेका छन्। उनीहरुले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई भेटी काम सञ्चालन गर्ने वातावरण बनाइदिन अनुरोध गरेका छन्। नगरप्रमुख न्यौपानेले दुवै ठाउँका बासिन्दाबीच सहमति गरेर अगाडि बढ्नुपर्ने बताए। “जहाँ उपयुक्त हुन्छ, त्यहाँ पुल बन्नुपर्छ, दुवै ठाउँका स्थानीयवासीसँग बसेर विवाद समाधानमा पहल गर्छौँ,” न्यौपानेले भने।

“सम्भव हुन्छ भने अहिले झोलुङ्‍गे पुल जहाँ छ त्यहीँबाट निर्माण गरौँ भन्ने सबैको सहमति भएको थियो, अहिलेको ठाउँबाट सम्भावना छैन भनेर भने पनि प्रतिवेदन प्राप्त भएको छैन,” नगरप्रमुख न्यौपानेले भने, “के कारणले सम्भावना छैन भनेर प्रतिवेदन बुझाउन भनिए पनि उक्त कागजात प्राप्त भएको छैन।”

उक्त ठाउँमा पुल निर्माण हुने विषयमा नगरपालिका अनभिज्ञ रहेकोसमेत न्यौपानेले बताए। “सङ्‍घबाट हो कि प्रदेशबाट हो कहाँबाट आएको योजना हो, हामीलाई केही जानकारी छैन। जहाँबाट भए पनि पुल निर्माण हुन्छ भन्ने भएपछि काम सुरु गर्न भनिएको थियो,” उनले भने। रासस

Recent Comments

No comments to show.