काठमाडौं । संसद बिघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध यही पुष १३ गते नेपाली कांग्रेसले आयोजना गरेको बिरोध प्रर्दशनलाई सफल बनाउन नेपाल तरुण दलले ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको छ ।
नेपाल तरण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले आज एक निर्देशन जारी गर्दै केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेसले पुष १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन आयाेजना गरेकाे छ ।
साे कार्यक्रमलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन सबै जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न र गराउन तरुण दल अध्यक्ष बस्नेतले आव्हान गरेका हुन् ।
साथै २०७७ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै जिल्ला समितिलाई निर्देशन तरुण दलका अध्यक्ष बस्नेतले निर्देशन दिएका छन् । मेलमिलाप दिवसमा सबै जिल्ला समितिले पार्टीसँग समन्वय गरी पार्टीको कार्यक्रमसँग नजुधने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी दिवस भव्य रुपमा मनाउन मनाउन अनुरोध गरेका छन् ।
प्रतिक्रिया