काठमाडाैं। चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ।
सहयोगापेक्षी सडक मानवको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई २०७२ मा सडकबाट उद्धार गरेको थियो।
पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बङ्गलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिए। आज उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उनले जानकारी दिए।
चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकेको थियो। हातको घाउ कुहिएर कीरा परेको थियो।
घाउको गन्धले वरिपरि जानै मुस्किल थियो। विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ।
बाबुलाललाई लमजुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो। अहिले उनी पनि स्वस्थ छन्।
आज उनलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्तासँगै जाँदै छन्। उनीहरूलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले बिदाइसमेत गरिसकेका छन्।
आश्रमले यसअघि पनि तीन बङ्गलादेशी नागरिकलाई परिवारमा पुनः मिलन गरिसकेको छ।
हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ। अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन्। त्यसमा धेरै भारतीय छन्। उनीहरूको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको जनाइएको छ। रासस
प्रतिक्रिया