प्रधानमन्त्रीले देशलाई ठूलो संकटबाट जोगाउनुभयो : बिजुक्छें

प्रधानमन्त्रीले देशलाई ठूलो संकटबाट जोगाउनुभयो : बिजुक्छें

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर देशलाई ठूलो संकटबाट जोगाएको बताएका छन्। 

उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिएका हुन्।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा उनले भने,  “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो संकट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ।” 

संविधानले परिकल्पना गरेको मान्यता र  संविधानभित्रै रहेर प्रधानमन्त्रीले  कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेंले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने औंल्याए। 

प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेंले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क राखे। उनले भने, “प्रधानमन्त्रीले ‘कु’  गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिँ पार्नुभएको हो ।” 

दुई तिहाइ बहुमत नजिकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उनले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताए। 

“देशमाथि आएको यस्तो संकटमा पनि यो कदम नचालेको भए इतिहासले ओलीलाई लाछी प्रधानमन्त्री भन्थ्यो, उहाँले देशलाई विभाजन हुनबाट जोगाउन यो कदम चाल्नुभएको हो,” उनले भने। 

गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उनले दिए। उनले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिए।-रासस

Recent Comments

No comments to show.