गण्डकी। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ।
नेपाल मानवअधिकार वर्षपुस्तक सन् २०२१ को पूर्व समीक्षा कार्यक्रममा जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेकको अभिलेखअनुसार सन् २०२० जनवरीदेखि हालसम्म १८ बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनाबाट पीडित बनेका छन्। त्यस्तै तीन बालक यौन दुर्व्यवहारबाट पीडित बनेका छन्। गत वर्ष छ बालिका पीडित बनेका थिए। सन् २०२० मा आठ महिला बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका घटनाबाट पीडित बनेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।
कास्कीमा परिवारजनबाट एक र अन्यपक्षबाट एक गरी दुई जनाको हत्या, राज्यपक्षबाट गिरफ्तार तीन र जातीय विभेदको एक घटना भएको इन्सेकको अभिलेखमा उल्लेख छ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईँले मानवअधिकार वर्ष पुस्तक द्वन्द्वकालीन घटनाको अनुसन्धानमा सहयोगी बनेको बताउँदै इन्सेकको अभिलेख र प्रतिवेदन निकै महत्वपूर्ण रहेको बताए।
गैरसरकारी संस्था महासङ्घ गण्डकी अध्यक्ष विना सिलवालले कोभिड-१९ महामारीपछि मानवअधिकार हननका घटना बढेको भन्दै यस वर्ष स्वास्थ्य अधिकारका विषयलाई प्राथमिकता दिन आग्रह गरिन्। रासस
प्रतिक्रिया