निगमको १० वर्षे कार्ययोजना सार्वजनिक : ८ नयाँ गन्तव्य,सन् २०३० मा ५ अर्ब ३० करोड मुनाफा गर्ने

निगमको १० वर्षे कार्ययोजना सार्वजनिक : ८ नयाँ गन्तव्य,सन् २०३० मा ५ अर्ब ३० करोड मुनाफा गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगमले २०३० सम्म ५ अर्ब ३० करोड नाफा गर्ने योजना बनाएको छ।

निगमले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई उक्त कार्ययाेजनासम्बन्धी प्रतिवेदन  हस्तान्तरण गरेकाे छ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले निगमभित्रको सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन निगम नेतृत्वलाई निर्देशन दिएका छन्। उनले सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएमा सरकारले राष्ट्रिय ध्वजावाहक निगमलाई सहुलियत प्रदान गर्ने बताए।

१० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले उक्त राजमार्गबाट दायाँबाँया नगरी अहिले घाटामा रहेको निगमलाई व्यावसायिक रुपमा सफल बनाउनुपर्ने बताए।

निगमका महाप्रबन्धक प्रकाश पौडेलले सन् २०२१ देखि २०३० सम्मको व्यावसायिक योजनाबारे जानकारी गराएका थिए। उक्त योजनामा निगम सुरुका तीन वर्ष नोक्सानमै रहने भएता पनि सन् २०२४ बाट नाफामा जाने र २०३० मा पाँच अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ। उक्त कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ।

निगमले सो योजना अनुसार सन् २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ  सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियादलगायत आठ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी चार वटा र वाइडबडी दुई वटा गरी ६ जहाज आवश्यक पर्ने जनाएको छ। त्यस्तै, आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाडौं, नेपालगञ्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

नेपाल सरकारको १५औं पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो व्यावसायिक योजना तयार पारिएको महाप्रबन्धक पौडेलले बताए।

योजना प्रतिवेदनमा निगमको वित्तीय अवस्था, बजार विश्लेषण, कोभिड-१९ ले निगममा पारेको असर, नेपाल सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई सुक्ष्मरुपमा उल्लेख गरिएको छ।

Recent Comments

No comments to show.