दशैं बिदामा जिल्ला नछाड्न सीडीओ र सुरक्षा प्रमुखलाई गृह मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गृह मन्त्रालयले नजिकिँदो दसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने निष्कर्ष निकालेको छ।
 
कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिंदै गृहले यसपटक चाडपर्व बिदामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकाय प्रमुखलाई जिल्ला नछाड्नसमेत निर्देशन दिइसकेको छ।
 
“निकट रहेको बडादसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत  बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दसैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपचायहरू अवलम्बन गर्न/गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ,” गृहद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

कोभिड-१९ को संक्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिदै गएको गृहले जनाएको छ।

कोभिड-१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्न पनि सबैलाई गृहले आग्रह गरेको छ।
 
“कोभिड-१९ को संक्रमण बढ्ने गरी अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छौं त्यहीँ बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्न/गराउन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइसमक्ष गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’’ विज्ञप्तिमा उल्लेख छ।
 
चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाइ कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगीलगायतका अवाञ्छित तथा अपराधिक गतिविधि हुन नदिन पनि गृहले सुरक्षा निकायलाई भनेको छ।

यसैगरी, बजारमा आमनागरिकको अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालो बजारी, कृत्रिम अभाव, मिसावट, गुणस्तरहीन सामानको बिक्री वितरण हुन/गर्न नदिन, कानुनविपरीतका गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न पनि गृहले सुरक्षा निकाय र सबै जिल्ला प्रमुख अधिकारीलाई निर्देशन दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।