काठमाडौं। काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुल्ला गरिएको छ।
कोरोना महामारीको जोखिमका कारण झण्डै ६ महीना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुल्ला गरेको हो।
कोभिड-१९ का कारण १० चैतदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि सार्वजनिक यातायात खुल्ला गर्ने निर्णय गरेसँगै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुल्ला गरिएको हो। टिकट बुकिङ खुल्ला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।
नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउँछन्।
“बसको टिकट लिन लाइन बस्दा कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुल्ला गरेका हौँ, आगामी दिनमा अनलाइन र एप्समार्फत टिकट काट्ने व्यवस्था गर्नैछौँ,”उनले भने।
पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम ’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागिएको छ।
प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताउँछन् । “विगतमा विभिन्न व्यक्तिबाट यात्रु ठगिने, महङ्गो बसभाडा तिर्नुपर्नेलगायत समस्या आएकाले अब त्यस्तो हुन नदिन अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाएका हौँ,” उनले भने। – रासस
प्रतिक्रिया