काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्रा आइतबार दिउँसो ३ बजे हुने भएको छ।
बिहीबार पुल्चोकबाट तानेर करिब ५ मिटर टाढा पुर्याउँदा रथ तान्न पुगेका
स्थानीय र प्रहरीबीच झडप भएसँगै रोकिएको रथयात्रा दिउँसो हुन लागेको हो ।
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको
रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको हो । अहिले गा बहालमा
राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ।
दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
यससँगै रथलाई साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र
जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आइतबार छ्वयलाभू र
भोलि सोमबार भुज्या मनाउनेछन् ।
विगतका वर्षहरुमा रथलाई जुन जुन ठाउँमा विश्राम गराइयो त्यस क्षेत्रका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो ।
यसपालि साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र
जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन
समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा
व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर
१६० जनाले रथ तान्ने भएका छन् ।
रथ तान्नको लागि दिउँसो ३ बजे गा बहालमा भेला हुनेछन् । रथ तान्नेहरुको
पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था
गर्ने भएको छ।
विभिन्न जातीय समूहको तर्फबाट १२४ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।
सोमबार भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने
साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान लगिनेछ ।
यसैसँगै २०७७ सालको रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।
झडपपछि सरोकारवाला निकाय र गुठी खलस् हरुको संयुक्त बैठकले रातो
मत्स्येन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो।
कोरोना महामारीका कारण रथयात्रा सम्पन्न गर्न नसकेको भन्दै शुक्रवार रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिएको थियो।
प्रतिक्रिया