अमृत खड्का,
अध्यक्ष, नेपाली उनी फेल्ट उत्पादक तथा निर्यातक संघ
फेल्ट उद्योगको अहिलेको अवस्थाः
नेपालमा उत्पादित फेल्ट एवं उनीजन्य वस्तुहरु उत्पादन पश्चात् त्यसको मुख्य बजार भनेको बाह्य (अन्तर्राष्ट्रिय) बजार नै हो । नेपालमा उत्पादन भएका यी वस्तुहरु बाहिर निर्यात गर्दा अहिले अवस्था सहज छैन । लागत निकै महँगो पर्ने अवस्था छ । यद्यपि नेपालमा पनि सबै कर्मचारीहरुलाई उद्योग क्षेत्रमा नै काममा लगाएर उत्पादन गर्न सकिने अवस्था पनि छैन । यस्तो अवस्थामा सम्बन्धित कर्मचारीले घरबाटै उत्पादन गर्न सक्ने वस्तुहरु घरबाट नै उत्पादन गर्नुभएको छ । तर सबै वस्तुहरु घरबाट नै उत्पादन गर्न सकिने अवस्था भने रहँदैन ।
बजार २० प्रतिशतमा सीमितः
यतिबेला नेपालमा फेल्टजन्य सामानहरुको उत्पादन घटेको छ । बजार समेत निकै नै घटेको छ । यस क्षेत्रको बजार यतिबेला घटेर विगतको तुलनामा अहिले २० प्रतिशतमा खुम्चिन पुगेको नेपाली उनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्काको धारणा छ ।
फेल्ट उद्योग क्षेत्रको समग्र बजारः
नेपालबाट विगतका बर्षहरुमा बार्षिक रुपमा ३ अर्ब बराबरको फेल्ट प्रडक्ट विदेशमा निर्यात हुँदै आएको थियो । यस पटक भने फेल्टको कारोबार समग्र रुपमा घट्ने निश्चित छ । गत आर्थिक बर्षको लागि अघिल्ला ८ महिनाको व्यापार राम्रो रहेपनि यस आर्थिक बर्षको शुरुवात भन्दा पहिले देखिकै कोरोना सङ्कटको कारण अवस्था निकै नै चिन्ताजनक बन्न पुगेको छ । अघिल्लो बर्ष समग्र रुपमा करिब २५ प्रतिशत व्यापार घटेपनि यस बर्ष भने बजारमा निकै नै असर पर्न सक्ने आफूहरुले देखेको अध्यक्ष खड्काले बताउनुभयो ।
नेपालमा फेल्ट उद्योगको सञ्जाल
नेपालमा अहिले करिब १ सय ५० व्यवसायीहरु यस फेल्ट उद्योगमा संलग्न रहँदै आउनुभएको छ । यस क्षेत्रमा काम गरिरहेका सबै व्यवसायीहरु संघमा आवद्ध हुनुभएको भने छैन । खासगरी निर्यात क्षेत्रमा मात्र संलग्न रहेका व्यवसायीहरु संघमा आवद्ध हुनुहुन्न । साथै कतिपय व्यवसायीहरु दर्ता समेत नगरी काम गर्दै आउनुभएको छ ।
उपत्यका केन्द्रित व्यवसायः
हाल सम्म फेल्ट व्यवसाय मुख्यतः काठमाडौं उपत्यकामा नै सीमित छ । यसको अलावा चितवन क्षेत्रमा समेत एउटा उद्योग (लस्ट होराइजन इन्टरनेशनल ह्याण्डिक्राफ्ट इण्डष्ट्रिज प्रा.लि) सञ्चालनमा आएको छ । नेपालमा सञ्चालित फेल्ट उद्योगमा प्रति उद्योगमा न्यूनतम १०-२० जना देखि बढीमा ६ सय सङ्ख्या सम्म रोजगारी सृजना भएको छ । ठूलो क्षमतामा सञ्चालनमा रही ५ सय भन्दा बढीलाई रोजगारी सृजना गर्ने उद्योगहरु ४-५ ओटा छन् । ३-४ सय रोजगारी सृजना गर्ने मध्यम लगानीका उद्योगहरु ८-१० ओटा छन् । अधिकांश उद्योगमा करिब १ दर्जन व्यक्ति काममा संलग्न छन् ।
कस्तो क्षेत्र हो फेल्ट उद्योग ?
नेपाली उत्पादनहरुलाई बाह्य बजारमा विक्रीवितरण गरी हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्नको लागि फेल्ट उद्योगले ठूलो योगदान दिएको छ । नेपालमा भएका जनशक्ति र स्रोतसाधनलाई प्रयोग गरी हाम्रो सीप र पुरुषार्थलाई बाह्य बजारमा चिनाई विदेशी मुद्रा आर्जनको लागि यस क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ ।
फेल्ट उद्योगको लागि कच्चा पदार्थहरु न्युजिल्याण्डबाट आयात गरिन्छ । शुरुमा खासै लगानी नगरी काम शुरु गर्न सकिने यस उद्योगको निम्ति श्रम नै मुख्य लगानी वस्तु हो । यो क्षेत्र मुख्यतः सीपमा आधारित छ । नयाँ सृजना पस्किन सकेको र आकर्षक डिजाइन दिन सकेको खण्डमा यस क्षेत्रबाट राम्रो लाभ हासिल गर्न सकिन्छ ।
न्यून लगानीको क्षेत्रः
शुरुका दिनमा अति न्यून केवल १ लाख रकम लगानीमा नै फेल्ट उद्योग सञ्चालन गर्न सकिन्छ । कारोबार बढाउन र सफलता हासिल गर्नको लागि नयाँ डिजाइनहरु पस्किन सक्नुपर्छ । अध्यक्ष खड्का आफूले पनि शरुमा करिब ५० हजार लगानीमा यो व्यवसाय शुरु गर्नुभएको हो । अहिले पनि यो क्षेत्रमा न्यून लगानीमा १–२ ओटा कोठा भाडामा लिइ काम गर्न सकिने उहाँको सल्लाह छ ।
नेपालमा सञ्चालित फेल्ट उद्योगमा प्रति उद्योगमा न्यूनतम १०-२० जना देखि बढीमा ६ सय सङ्ख्या सम्म रोजगारी सृजना भएको छ । ठूलो क्षमतामा सञ्चालनमा रही ५ सय भन्दा बढीलाई रोजगारी सृजना गर्ने उद्योगहरु ४-५ ओटा छन् । ३-४ सय रोजगारी सृजना गर्ने मध्यम लगानीका उद्योगहरु ८-१० ओटा छन् । अधिकांश उद्योगमा करिब १ दर्जन व्यक्ति काममा संलग्न छन् ।
आफूले करिब ५० हजारमा शुरु गरेको व्यवसायले हाल ६ सय भन्दा बढीलाई रोजगारी दिन सकेको छ । जुन निकै ठूलो उपलब्धि हो । नेपालमा सञ्चालित चर्चित कल्पना क्राफ्ट उद्योग उनै खड्का परिवारबाट सञ्चालित हस्तकलाजन्य सामान उत्पादन गर्ने उद्योग हो ।
बजारको चिन्ता छैनः
सामान उत्पादन भएपश्चात् ती सामान सजिलै बजारमा विक्री गर्न सकिन्छ । प्रयाप्त उत्पादन हुन सक्ने हो भने ती वस्तुको बजारमा निकै राम्रो माग छ । समयमा सामान उत्पादन गरी उपलब्ध गराउने हो र उत्पादनमा नयाँपन ल्याउन सक्ने हो भने बजारको चिन्ता रहँदैन । खासगरी यी सामानहरु अर्डर बमोजिम नै उत्पादन हुने गर्छन् ।
आगामी सम्भावनाः
उनी तथा फेल्ट क्षेत्रमा आगामी दिनमा निकै राम्रो सम्भावना छ । नेपालमा यस क्षेत्रमा काम गर्नको लागि अन्य युवाहरुलाई पनि आकर्षित गर्न सक्नुपर्छ । यस क्षेत्रमा रहेर काम गर्नको लागि विभिन्न आइटमहरु छन् । टोपी, जुत्ता, कपडा लगायत ।
खासगरी फेल्टको अर्थ जमाउनु भन्ने हुन्छ । उनीलाई जमाएर त्यसबाट विभिन्न वस्तुहरु बनाउन सकिन्छ । फेल्ट अन्तरगत धेरै वस्तुहरु भएकोले कुनै सामानको बजार माग गिरावट आएपनि अर्को आइटमको माग बढ्न सक्ने अवस्था रहिरहन्छ । यसकारण पनि समग्रमा आगामी दिनमा पनि फेल्ट उद्योगको सम्भावना निकै राम्रो देखिन्छ ।
लकडाउनमा उत्पादनः
‘अहिले हामीले सम्भव भएसम्म घरबाट नै काम गराइरहेका छौं । निकै महत्वपूर्ण कामहरु मात्र हामीले कारखाना भित्रबाटै गराइरहेका छौं’ अध्यक्ष खड्काले बताउनुभयो ।
मुख्य बजारः
अहिले सम्म नेपालमा फेल्टको लागि मुख्य बजारको रुपमा बाह्य बजार नै हो । आन्तरिक बजार अत्यन्तै न्यून छ ।
नेपालमा उद्योग सञ्चालनका अप्ठ्यारा एवं चुनौतीहरुः
खड्काका अनुसार नेपालमा उत्पादनमूलक कार्य गर्न सदैव अप्ठ्यारो छ । कच्चा पदार्थ, पानी, बाटो, मजदुर लगायतको सही व्यवस्थापन नै नेपाली उद्योगहरु माथि उठ्न नसक्नुका समस्याहरु हुन् । विगतमा समस्याको रुपमा रहेका श्रम एवं विद्युत समस्या भने अहिले समाधान भइरहेका छन् ।
फेल्ट उद्योगमा खड्काको संलग्नताः
नेपालमा रही उद्यमशिल बन्नुपर्छ भन्ने मानसिकता बोक्नुभएका खड्का सानै देखि नै उद्यमशिल क्रियाकलापमा रमाउनुहुन्थ्यो । केही समय उहाँले च्याउ खेती गर्नुभयो । उहाँ पछि बाह्य बजारमा निर्यात गर्न सकिने कम लगानीको क्षेत्र खोज्दै जाने क्रममा उनी तथा फेल्ट क्षेत्रमा पुग्नुभएको हो ।
उनी तथा फेल्ट क्षेत्रमा आगामी दिनमा निकै राम्रो सम्भावना छ । नेपालमा यस क्षेत्रमा काम गर्नको लागि अन्य युवाहरुलाई पनि आकर्षित गर्न सक्नुपर्छ । यस क्षेत्रमा रहेर काम गर्नको लागि विभिन्न आइटमहरु छन् । टोपी, जुत्ता, कपडा लगायत ।
अबको आवश्यकताः
आगामी दिनमा फेल्ट उद्योगमा शैक्षिक जनशक्ति संलग्न हुनुपर्ने आवश्यकता खड्काले महसुस गर्नुभएको छ । साथै यस क्षेत्रको थप अध्ययन हुनुपर्ने आवश्यकता समेत रहेको उहाँ बताउनुहुन्छ । जसले गर्दा यस क्षेत्रका बाहिर प्रकट हुन नसकेका नयाँ सम्भावनाहरु समेत खोज्न सकियोस् ।
अन्त्यमाः
कुनै पनि मुलुकको समृद्धिको लागि हाम्रै सम्भावना क्षेत्रहरुको खोजी र उपयोग गर्नुपर्छ । कसैसँग मागेर हामी दिगो रुपमा समृद्ध बन्न सक्दैनौं । यसकारण मुलुकमा उत्पादन वृद्धि एवं उद्यमशिलता विकासलाई विशेष महत्व दिनुपर्ने खड्काको धारणा छ ।
नेपालमा फेल्ट उद्योग अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्योगहरु मध्ये एक हो । जुन हस्तकला अन्तरगत पर्दछ ।
प्रतिक्रिया