अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन संक्रमितको मृत्यु

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन संक्रमितको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन। यहाँ अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना संक्रमितको हिजो मृत्यु भएको छ।

जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरूको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरू तीनैजनामा कोरोना पोजिटिभ पाइएको छ। राति अबेर नतिजा आएको थियो।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनैजनामा कडा निमोनिया देखिएको थियो। बिहान ७ बजे अस्पताल ल्याइएकी खैरहनी नगरपालिका-१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो। दुवै मेडिकल कलेज पुर्‍याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए।
 
त्यस्तै भरतपुर-११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो। दिउँसो २:३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए। उनले भने, “चितवन अस्पतालले एक्सरे गरेपछि पिसीआर परीक्षण गर्नुपर्छ भनेर पठाएको रहेछ। हेर्दाहेर्दै बिरामीको मृत्यु भएको हो।”
 
भरतपुर-११ कै १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो। तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याइएकी उनको ३ बजे मृत्यु भएको हो।

गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरेपछि सरकारी अस्पताल आइपुगेका थिए।

चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष प्रा. डा. कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिारामीले उपचार नपाएको स्वीकार गर्छन्।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपाने बिरामी आकस्मिक कक्षमा आएपछि समन्वय गरेर नपठाउँदा समस्या भएको बताउँछन्।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सिफारिसदेखि उपचारसम्ममा समस्या भएको स्वीकार गर्छन्। अस्पतालको आकस्मिक कक्षमा आएपछि बिरामीलाई के सेवा चाहिने हो सम्बन्धित अस्पतालले समन्वय गर्नुपर्ने अधिकारी बताउँछन्।

संक्रमणले गर्दा सघन उपचार कक्ष निर्मलीकरण, चिकित्सक, स्वास्थ्यकर्मी, आइसोलेसन राख्नुपर्नेजस्ता कारण क्षमता घटेर पनि समस्या देखिएको उनले बताए।
 
जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी गरेको छ। – रासस

Recent Comments

No comments to show.