काठमाडौं । एउटा अनुमान गर्न सकिन्छ– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा कोइराला परिवारका तर्फबाट सभापतिका उम्मेदवार शेखर कोइराला हुन सक्छन् ।
डा. शशांक कोइराला महामन्त्री हुँदाहुँदै उक्त पदका लागि शेखरको नाम अगाडि कसरी आउन सक्छ भन्ने विषयका पनि दुई दलिल चर्चामा छन् । पहिलो त, कोइराला परिवारको ज्येष्ठताको कुरा रहन्छ अर्को गिरीजाप्रसाद कोइरालाले स्थापित गरेको थितीको निरन्तरतामा शशांकभन्दा शेखर अब्बल मानिन्छन् ।
तर शेखर कोइराला सभापतिमा निर्वाचित हुने अस्वभाविक चरण नेपाली कांग्रेसमा आउन सक्ला ? यो गम्भिर र सोचनिय प्रश्न बहसका रुपमा अगाडि आएको बताइन्छ ।
१४ औं महाधिवेशनका लागि अनेकले नेतृत्वका स्वभाविक आकांक्षा र अपेक्षा गरेका छन् । जहाँ पारिवारिक विरासत र कांग्रेस सत्ता स्वादको निरन्तरता पनि छन् । कतिपयचाहिँ ‘बार्गेनिङ’का आफ्नै स्वार्थमा केन्द्रित रहेका उद्घोष पनि देखिएका छन् ।
सुदूरपूर्वका कोइराला परिवारबाट खोसिएको नेतृत्व सुदूरपश्चिमको शेरबहादुर देउवा परिवारमा पुगेको थियो, महाधिवेशनमा निर्वाचनका चरणहरूमार्फत । यसमा कोइराला विरासतका रुपमा रहेका रामचन्द्र पौडेललाई असहयोग गरी कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवालाई सघाउनु प्रमुख कारण थियो, १३ औं महाधिवेशनमा ।
सुशील कोइरालाको निधनपछि कोइराला परिवारले कांग्रेस नेतृत्वको विरासत गुमाएको थियो । कोइराला परिवारको नेतृत्वमा एउटा युगको अन्त्य नै भएको मान्नुपर्छ । उदयको चरण कहिले आउने हो ? यो जटिल र घनिभूत प्रश्न बनेको कांग्रेसी नेताहरू बताउँछन् ।
‘कांग्रेसको आदर्शका रुपमा स्थापित विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको रगतको साइनोका कारण शशांकले महामन्त्रीमा निर्वाचित हुने मौका पाएको यथार्थ नै हो’, एक नेता भन्छन्,‘अबको नेतृत्वको होडमा देउवा आफैं निरन्तरता लिने कठोर तपस्या र प्रयोगमा छन् । उनका अलावा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र कोइराला परिवार नै अगाडि मैदानमा आउनेछन् । यत्रो लडाईका बीच कोइराला परिवार नेतृत्वमा उदाउन सक्ने सम्भावना क्षीण हुनसक्छ ।’
यस्तो सम्भावना र नजीर स्थापित गर्दै कोइराला परिवारको नेतृत्वमा पुर्नोत्थान हुन सक्ने एउटा मात्रै सुत्र भनेको नेतृत्वमा पुस्तान्तरणको विषय हुनेछ । यो प्रक्रियामा एउटा वा दुईवटा कांग्रेस होइन, सम्पूर्ण कांग्रेसको सहभागीता, महाधिवेशनमा विधानमा परिवर्तनलगायतका काम हुनुपर्ने बताइन्छ ।
एक नेता भन्छन्,‘कोइराला परिवारसँग सभापतिका उम्मेदवार भए पनि सम्पूर्ण कांग्रेसले त्यसका लागि पुस्ता हस्तान्तरणकै मतदान गर्नुपर्ने हुन्छ । जबकि, सम्पूर्ण कांग्रेसमा युवाहरू भन्दा बढी त ज्येष्ठ नागरिकहरूको महासभा अधिक छ । अनि, पुस्तान्तरण हुँदै कोइराला परिवारको उदय सम्भव देखिन्छ त ?’
देउवाले आगामी नेतृत्व लिनका लागि विभिन्न विभाग र पार्टीमा ठूलो हैसियतमा अन्यलाई प्रवेश गराएको विषयमा पनि विवाद र बहस चलिरहेको छ । कतिपय नेताले देउवाले नेतृत्वमा दाबी गर्न नहुने बाहिर नै बोल्दै आएका छन् । ‘देउवाले दाबी नगरे पनि कोइराला परिवार नेतृत्वको फ्रन्टलाइनमा आउने सम्भावना कम छ, उनीहरू आइशोलेसनमा नै हुनेछन्’, एक जना पदाधिकारी भन्छन्,‘विरासतको मात्र अब प्रश्न र राजनीति हुने सम्भावना कम छ ।’
त्यसो त कांग्रेसको विधान नै संशोधन गरी नयाँ पुस्ताको नेतृत्व हुनुपर्ने आवाज पनि जोडतोडले उठेको छ । यसको अर्थ नेतृत्व एकै पटक तेस्रो पुस्तामा जानुपर्छ भन्ने मत पनि बलियो हुनसक्छ । नेता गगन थापासहितले सभापतिमा उम्मेदवारी हुन सक्ने बयानबाजी दिनु यसको संकेतका रुपमा देखिएको छ ।
प्रतिक्रिया