काठमाडौं। हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानीय आन्दोलित भएका छन्। बालाजु बाइपासमा सडक विस्तारलाई तीब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले आज प्रदर्शन गरेका हुन्। बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको थियो।
सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो। स्थानीय पुष्प महर्जनले हिलाम्य सडकमा विगत ७ वर्षदेखि यात्रा गर्नुपरेको उल्लेख गर्दै सरकारलाई चाँडो बाटो कालोपत्रे गर्न माग गर्दै प्रदर्शन गरिएको बताए। अर्का स्थानीय विरेन्द्र बहादुर वन्तले शुरूमा सडक विस्तारका लागि एकजुट भएका स्थानीयहरू अहिले कालोपत्रेका लागि एकजुट भएर सरकारलाई माग गरिरहेको बताए।
केही घर टहराहरूका कारण समस्या देखिएको उनले बताए। एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ। तर, ती टहरामा बसिरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानीय सडक निर्माणका लागि आन्दोलनमा उत्रिनु परेको उनले बताए।
स्थानीय विश्वराम सापकोटाले निर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिले देखिको समस्या भएपनि आज जनप्रतिनिधि निर्वाचित भएर आएपनि समस्या उस्तै रहेको गुनासो गरे। बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन्।
आफूहरूको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरूले अनावश्ययक दुःख दिएकाले आफूहरू सडकमा उत्रिएको स्थानीयको भनाइ छ। सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ। बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ।
ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई विस्थापन गराउनका लागि स्थानियले पटक–पटक माग गर्दै आइरहेका थिए।
प्रतिक्रिया