काठमाडौं । सरकारले फ्रान्सबाट आएकी नेपाली युवतीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीसँग सम्पर्कमा रहेका सबै मानिसलाई खोज्न निर्देशन दिएको छ ।
गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल भित्रिएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य अपातकालीन तथा विपत् व्यवस्थापन एकाइले कोरोना भाइरस संक्रमित महिला आएको जहाजका अन्य यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउन इपिडिमियोलोजी तथा रोक नियन्त्रण महाशाखालाई निर्देशन दिएको हो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक डा रोशन पोखरेलको नेतृत्वमा चार जनालाई २४ घन्टा भित्र सो युवती आएको विमानमा रहेका मानिसहरू क्वारेन्टाइनमा छन्र छैननदेखि उनीसँग गत चैत चार गतेदेखि हिजोसम्म सम्पर्कमा रहेका सबैलाई पत्ता लगाई उनीहरूलाई क्वारेन्टाइनमा नभए क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्न भनेको छ।
इडिसिडिलाई लेखिएको पत्रमा जहाजका यात्रुसहित संक्रमित देखिएको महिला यात्रुको परिवारका सदस्यहरु, उनको सम्पर्कमा आएका अन्य व्यक्तिसमेत परीक्षण गर्न र प्रोटोकलअनुसार क्वारेन्टाइन लगायतका अन्य कार्य गरी २४ घण्टाभित्र कार्यप्रगति विवरण उपलब्ध गराउन भनिएको छ । ती महिलाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलनमा भइरहेको पनि अस्पतालले जनाएको छ ।
प्रतिक्रिया