काठमाडौ । कोरोना भाइरसको जोखिम न्यूनीकरणमा सार्क राष्ट्रहरू एकजुट भएको सन्देश दिन आज(आइतबार) भिडियो कन्फ्रेन्स हुने भएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि साझा रणनीति बनाउन आज नेपालसहित सार्क राष्ट्रहरूबीच भिडियो संवाद (कन्फरेन्स) हुने भएको छ । साँझ ५ बजे हुने भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने भएका छन् ।
‘सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनेछन् । यस्तै भारतका तर्फबाट भिडियो कन्फरेन्समा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने छन् ।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै सामाजिक सञ्जाल ट्विटरमार्फत महामारीका रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न सार्कले संयुक्त पहल गर्नुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव राखेका थिए ।
सार्क ५ वर्षदेखि अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन। आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ। नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।
प्रतिक्रिया