काठमाडौं । अब तपाईले सुन बैंकमा राख्नु भयो भने त्यसको पनि ब्याज पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रुपमा लिने कार्यलाई मूर्तरुप दिन क, ख र ग बर्गका इजाजत पत्र बैंक तथा वित्तिय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ ।
एकीकृत निर्देशनमा जनाए अनुसार बैंकमा पैसा राखे जस्तै गरी सुन पनि निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको हो ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएसँगै अब बैंकमा सुन राख्दा पनि ब्याज पाइने भएको हो । बिहीबार परिपत्र जारी गर्दै बैंकहरुलाई कार्यविधि बनाएर सुन निक्षेपमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
सुन निक्षेप संकलनका लागि विस्तृत कार्यविधि तयार पार्ने अधिकार भने बैंकहरुलाई नै दिइएको छ। यस अधिकारसँगै बैंकहरुले सुन निक्षेप संकलनका सम्बन्धमा आफैं विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गरेर कार्यान्वयन गर्न सक्नेछन्।
प्रतिक्रिया