मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा आइतबार राति तीन वटा स्काभेटरमाथि आगजनी भएको छ ।
आगजनीबाट करिब ३ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ठेकेदार कम्पनीको १ वटा र २ वटा भाडाका स्काभेटरमा तोडफोड गरी दाउरा लगाएर अज्ञात समूहले आगजनी गरेका छन् । आगजनीबाट तीन वटै स्काभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगजनीको घटनापछि तीब्र रूपमा भइरहेको टाँडी रमिते खोला सडक निर्माण कार्य ठप्प भएको छ । १ नम्बर प्रदेश सरकारको ५८ करोड बजेटमा सो सडक निर्माणका लागि शर्मा एण्ड भिमेश्वर जेभी कण्ड्रक्सनले ठेक्का लिएर टाँडी रमितेखोला १८ किलोमिटर सडकको स्तारोन्नति गर्ने काम अघि बढाएको थियो ।
ठेकेदार कम्पनीलाई केही समयअघि अज्ञात समूहले चन्दा मागेको थियो । सोही विषयमा आगजनी गरिएको हुन सक्ने बताइएको छ । आइतबार राति नै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवाष राई र सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका प्रहरी निरीक्षकको संयुक्त टोली घटनास्थलतर्फ गएपनि आगजनी गर्नेहरू फेला पार्न सकेन ।
१०÷१२ जनाको समूहमा आएका व्यक्तिहरूले आगलागी करिब २ घण्टा घटनास्थलमा बिताएको स्थानीयबासीले बताएका छन् । घटना गराउनेहरूमा विद्रोही विप्लव समूहको संलग्नता रहेको प्रहरी प्रशासनको आशंका छ ।
प्रतिक्रिया