काठमाडौं । सरकारले नेपाल भित्रिने पर्यटकलाई प्रदान गर्ने भिसाको प्रक्रिया नै कमजोर हुँदा पर्यटन उद्योग खस्कँदै गएको पर्यटन व्यवसायीहरूले बताएका छन्। विना आधार १५० दिनसम्मको भिसा दिने गरिएको र त्यसपछि पर्यटकका गतिविधिमाथि बेवास्ता गर्ने गरिएको उनीहरूको आरोप छ।
कुन एजेन्सीसँग सम्पर्कमा आएको, गाइड छ या छैन, कुन क्षेत्रमा कति दिनका लागि घुम्ने, खर्चको विवरण कस्तो छ जस्ता जानकारीविना भिसा दिनु गलत भएको व्यवसायी टिकाराम गुरुङले बताए। ‘यस्ता कुराको जानकारी राखेरमात्र भिसा दिनुपर्छ, नत्र पर्यटकका गैरकानुनी गतिविधि बढ्दै जान्छन्,’ उनी भन्छन्।
३० दिनको पर्यटक भिसा लिएर नेपाल भित्रिएका सिचुवान प्रान्तका एक चिनियाँ पर्यटक ठमेलमा बसेर वर्षौंदेखि रुद्राक्षको व्यापार गर्दै आएका छन् । पर्यटक भिसामा नेपाल प्रवेश गरेका एक अमेरिकी प्रत्येक वर्ष संखुवासभाको भोटखोला क्षेत्रमा क्रिस्चियन धर्मको प्रचारमा व्यस्त हुने गर्छन्। यस्ता प्रसस्तै उदाहरण भए पनि सरकारले दिने पर्यटक भिसामा कुनै सुधार ल्याउन सकेको छैन।
अध्यागमन विभागले एक पटकमा १५, ३० र ९० दिनका लागि भिसा दिने गर्छ। यी अवधि अपुग भए १५० दिनसम्मको बाँकी अवधिको भिसा थप गरी एक वर्षसम्म नेपालमा बस्न पाउने कानुनी व्यवस्था छ। तर गैरकानुनी रुपमा नेपालमै रहे पनि सजाय हुने व्यवस्था छैन । विना इजाजत धर्मप्रचारदेखि व्यापार व्यवसायसमेत गरी सम्पत्ती आर्जन गरेर स्वदेश फर्कने गर्छन्। भित्रिएका पर्यटक अन्य गतिविधिमा संलग्न हुँदा संख्यामा मात्र पर्यटक देखिने तर राज्यलाई शून्य उपलब्धी हुने गरेको छ ।
खुकुलो प्रक्रियाबाट भिसा उपलब्ध गराउदा नेपालमा विदेशीको गैरकानुनी गतिविधि बढ्दै गएको पर्यटन व्यवसायी सुर्दशन न्यौपानेको आरोप छ। पर्यटकले नेपाल भ्रमण र पदयात्राको गन्तव्यभन्दा पनि गैरकानुनी गतिविधि गरी आयआर्जन गर्ने थलोको रुपमा प्रयोग गरेकाले यसलाई नियन्त्रण गरी पर्यटन उद्योगको विकास गर्नुको विकल्प नभएको उनले सुझाव दिए ।
अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले नेपाल घुम्न चाहने जनुसुकै देशका पर्यटकलाई डेढ सय दिनसम्मको भिसा उपलब्ध गराउँदै आएको बताए। अन्य व्यवस्था नभएकाले भिसा उपलब्ध गराउने र ओभरस्टे गरेमा कानुनअनुसार जरिवाना लिएर स्वदेश फिर्ता गर्ने गरेको र गैरकानुनी काम गर्नेलाई कारवाही गरेको उनले बताए। भिसाको समय गुजारेका पर्यटकका लागि विभागले कुनै पनि अनुगमन गर्दैन । नेपालमा सबैभन्दा धेरै चिनियाँ तथा युरोपियन देशका पर्यटक ओभरस्टे हुने गरेको अध्यागमन विभागको तथ्याङक छ ।
सरकारले पर्यटकको उद्देश्यअनुसार मात्र भिसा उपलब्ध गराउने र कडाइ नगरे पर्यटन क्षेत्रको सुधार नहुने भन्दै तत्काल समयनुसारको नीतिगत सुधार गर्न नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले माग गरेका छन्। सरकारको दुई बर्षभित्रमा २० लाख पर्यटक भित्राउने लक्ष्य पूरा गर्न महत्वका साथ भिसा प्रदान गर्ने प्रणालीलाई सुधार गर्नु पर्ने लामाको भनाइ छ।
पर्यटक भिसाको म्याद थप गर्दा १ देखि १५ दिनसम्म ३० डलर र त्यसपछि प्रत्येक दिनको २ डलरका दरले शुल्क लिइने गरिन्छ। भिसाको अवधि थप गर्न ढिला भएको प्रत्येक दिनको ३ डलरका दरले जरिवाना लिइन्छ। यो कानुनी व्यवस्था कमजोर भएकाले सुधार गरी भिसा प्रकृयालाई थप व्यवस्थित गरेर पर्यटन उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ।
यस्ता छन् व्यवसायीका सुझाव
१. भिसा दिनुअघि ट्रेकिङ अनुमति अनिवार्य लिएको हुनुपर्ने
२. ट्रेकिङ्ग एजेन्सी करको दायरामा ल्याउनु पर्ने
३. प्रतिदिन ७० डलरसम्म खर्च गर्न लगाउनु पर्ने
४. एक साता घुम्नेलाई भिसा शुल्क ५०, ९० दिनलाई १०० र त्योभन्दा माथि १५० दिनसम्म २०० डलर असुल्नु पर्ने
५. भिसाअनुसार ट्रेकिङ गर्न आएका पर्यटकले पदयात्रा मात्र गर्नुपर्ने
६. एकसय ५० दिन कहाँ घुम्छन् भन्ने कुरा यकिन गरेर मात्र भिसा दिनुपर्ने ।
७. एकसय ५० दिन नेपाल घुम्ने स्थान नभएको र पर्यटक पदयात्रा नगर्ने भएकाले भिसा अवधि घटाउनु पर्ने
८. धर्मप्रचारदेखि अन्य गलत गतिविधि गर्नेलाई सधैका लागि भिसा रोक लगाउनु पर्ने ।
प्रतिक्रिया